गुटबन्दी र भाँडभैलो मच्चाउनेहरु पार्टीबाटै अस्वीकृत : एमाले
एमाले केन्द्रीय कमिटीको जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले पेश गर्नुभएको ४३ पृष्ठ लामो प्रतिवेदनमा पार्टीभित्र गुटबन्दी गर्ने र भाँडभैलो मच्चाउने प्रवृतिलाई अस्वीकार गरिएको उल्लेख छ ।
पार्टी मुख्यालय च्यासलमा भइरहेको बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीमा गुटबन्दी मौलाउँदै गएकोतर्फ इंगित गरिएको छ । पार्टीमा गुट बनाउने र अराजकता मच्चाउने कार्य स्वीकार्य नभएको त्यसतर्फ लक्षित रहेको बताइन्छ ।
लेखिएको छ, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकाउमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ,’ प्रतिवेदनमा उल्लेख छ ।
उहाँले सत्तारुढ नेपाली काँग्रेस र एमाले मुलुकका मुख्य पतिस्पर्धीका साथै मुलुकका मुख्य ‘स्टेकहोल्डर’ पनि भएको बताउनुभयो । उहाँले प्रतिवेदनमा कांग्रेससँग भोलिका दिनमा पनि सहकार्य हुनसक्ने संकेत गर्नुभयो ।
लेखिएको छ, ‘लोकतन्त्र अप्ठ्यारोमा पर्दा सहकार्य गर्ने हाम्रो विगत पनि हो र भविष्यमा पनि यस्तो आवश्यकता पैदा हुन सक्छ । मुख्य प्रतिस्पर्धी हुनुको अर्थ हमेशा निषेध र विरोधको मनोविज्ञानका साथ अगाडि बढ्नु पर्छ भन्ने होइन,’ उहाँको प्रतिवेदनमा लेखिएको छ ।
टिप्पणीहरू