सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउन पाइने

सगरमाथा निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउन पाइने
सुन्नुहोस्

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउन पाइने भएको छ । वन, वन्यजन्तु तथा जैविक विविधतालाई असर नपर्नेगरी सुरक्षित तवरले हेलिकप्टरको उडान, अवतरण र होभरिङ्ग गर्न निकुञ्जले अनुमति दिएको हो । 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले झण्डै एक दर्जन हेलिकप्टर सर्भिस कम्पनीलाई पत्राचार गर्दै नियमानुसार राजश्व बुझाई उडान सञ्चालन गर्न भनेको छ । 

‘पर्यटकहरुलाई सो स्थानको दुश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्दार गर्न, विकास निर्माणका सामग्री, खाद्य सामग्री तथा अन्य सामग्री ढुवानी गर्नलगायतका कार्यका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीहरुलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्नेगरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजश्व बुझाई प्रचलित कानुनअनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान–अवतरण–होभरिङ गर्न–गराउन हुन सबै हेलिकप्टर कम्पनीहरुलाई अनुरोध गरिन्छ’,पत्रमा उल्लेख छ । 

सन् १९७९ मा युनेस्कोको ‘नेचुरल वर्ल्ड हेरिटेज साइट’ मा सूचिकृत भएको निकुञ्जको अवलोकन गर्न वर्षेनि हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक पुग्ने गर्दछन् । हेलिकप्टरमार्फत निकुञ्जको अवलोकन गर्ने पर्यटकको संख्या अत्याधिक छ । तर, निकुञ्जले सुरक्षाको कारण देखाउँदै अत्यावश्यकबाहेकको उडानमा रोक लगाउने निर्णय गरेको थियो । 

निकुञ्जको निर्णयको विरोध गर्दै व्यवसायीहरुले अत्यावश्यक उडानसमेत रोकेका थिए । विपद्, बिरामीको उद्दार, पर्यटन प्रवर्द्धनमा समस्या उत्पन्न भएपछि निकुञ्जले अनुमति लिएर उडान गर्न स्वीकृति दिएको हो ।

टिप्पणीहरू