गौशाला प्रहरीको हिरासतमा रहेकी आशिका सिडियोसामु उभ्याइँदै
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङ्गमाथि थप अनुसन्धान थालिएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने उनीमाथि प्रहरी वृत्त,गौशालाले अभद्र व्यवहारको कसूरमा अनुसन्धान अगाडि बढाएको हो ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा एक्यबद्धता जनाउन पुगेकी आशिकालाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुँदै भनेकी थिइन्,‘तपाईंहरु बढी नहुनुस्, दलालहरु...यो सरकारी कार्यालय हो, सरकारी समयमा जो पनि जान पाउँछ....समय कति भयो हेर त (कसैलाई निर्देशन दिँदै)।’
बर्दीमा रहेका प्रहरीलाई ‘दलाल’ भनेर अभद्र व्यवहार गरेको भन्दै गत पुस २५ गते प्रहरी वृत्त, गौशालामा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यता, कोषले पुस २६ गते उनीविरुद्ध जाहेरी दिएको हो । प्रहरी वृत्तले अनुसन्धानका लागि पुस २८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पक्राउ अनुमति लियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त स्वयम्भुबाट संयुक्त रुपमा खटिएको टोलीले उनलाई आज स्वयम्भुबाट नियन्त्रणमा लिएको हो । हाल उनी गौशाला प्रहरीको नियन्त्रणमा छिन् । अभिनेत्रीसमेत रहेकी आशिकाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अराजकता देखाउँदै आएकी छिन् ।
टिप्पणीहरू