आशिकाबारे भोलि पाटनमा छलफल

आशिकाबारे भोलि पाटनमा छलफल
सुन्नुहोस्

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ्गको रिहाईको माग गर्दै उच्च अदालत, पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ । गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख गर्दै उनको कानुन व्यवसायी मनिषा गौतमले आज रिट दर्ता गरेकी हुन् । रिटको पेशी भोलिलाई तोकिएको उच्चका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताए । 

‘उहाँको कानुन व्यवसायी मनिषा गौतमले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुभएको छ । भोलिलाई पेशी तोकिएको छ’,उनले भने । हिजो दिउँसो काठमाडौं, स्वयम्भूबाट पक्राउ परेकी आशिकामाथि प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप छ । 

पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेकी आशिकालाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुँदै भनेकी थिइन्,‘तपाईंहरु बढी नहुनुस्, दलालहरु...यो सरकारी कार्यालय हो, सरकारी समयमा जो पनि जान पाउँछ....समय कति भयो हेर त (कसैलाई निर्देशन दिँदै)।’

प्रहरीलाई ‘दलाल’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पुस २५ गते प्रहरी वृत्त, गौशालामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यता, कोषले पुस २६ गते उनीविरुद्ध जाहेरी दिएको हो । पुस २८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पक्राउ पूर्जी लिएको प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू