पैसाले पुगेपछि अध्यात्ममा मन
सामान्यतया: मानिसहरु पर्याप्त पैसा कमाएपछि मनपर्ने ठाउँमा घुम्न जान्छन् । राम्रो घर र महंगो गाडी किन्छन् । तर, विश्व चर्चित कम्पनी एप्पलका संस्थापक स्टेभ जब्सकी पत्नी लरेन्स पावेल भने हिन्दु धर्म अंगाल्दै आध्यात्मतिर लागेकी छन् ।
अस्ति सोमबार (माघ १) गते भारतको महाकुम्भ मेलामा गंगा स्नान गर्दै उनले हिन्दु धर्मलाई अंगालेकी हुन् । पावलले निरञ्जनी पिठेधेश्वर स्वामी कैलाशानन्द गिरीबाट ‘गुरुमन्त्र’समेत लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वामी कैलाशानन्दले हिन्दु दिक्षाअनुसार पावेललाई ‘कमला’ नाम र ‘अच्युतम’ गोत्र दिएका छन् । रोचक के भने, पावल अस्ति बिहान स्नान गरेपछि साँझ बिरामी भइन् । फोहोर पानीको कारण उनलाई संक्रमण भएको हुनसक्ने कतिपयको अनुमान थियो ।
तर, स्वामी कैलाशानन्दले उपचारमा चिकित्सक नचाहिने दावी गर्दै एउटा भाडोमा ‘पवित्र जल’ पिउन दिए । र, हिजो उनी पूर्णरुपले निको भएर बाँकी कर्ममा सहभागी भएको बताइन्छ ।
स्मरण रहोस्, पावेल आफैँ (श्रीमानको बाहेक) १५.८ बिलियन डलरकी मालिक हुन् । उमेरले ६१ वर्ष पुगेकी उनका तीन सन्तान छन् ।
एप्पल कम्पनीको सुरुवाती चरणदेखि नै उनले स्टेभलाई बलियो साथ दिएकी थिइन् ।
टिप्पणीहरू