बेचन झालाई थुन्नुको कारण मागियो
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।
झाका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज भएको सुनुवाइमा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । आफू गैरकानुनी रुपमा थुनामा परेको झाको दाबी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालय र बिचौलियाबीच समन्वयको भूमिका खेलेको आरोप उनीमाथि लागेको छ । गत असार १५ गते पक्राउ परेका झा काठमाडौँ जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् ।
नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य र राजनीतिक नेतृत्वबीच साँठगाँठ मिलाएको भनिएका झा विभिन्न शक्ति केन्द्रसँग नाम जोडिएका पात्र हुन् । उनी पक्राउ पर्नुलाई सत्ता फेरबदलको कारणका रुपमा समेत चर्चा हुने गरेको छ ।
झामार्फत् नेपाली काँग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वसमेत यो प्रकरणमा तानिन सक्ने भएकाले रातारात गठबन्धन परिवर्तन गरिएको तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले दाबी गरेका थिए ।
टिप्पणीहरू