जसले डोर्यायो उसैले आफूलाई सिध्याएको रास्वपा नेताको आरोप
लोकतान्त्रिक भनिने राजनीतिक दलभित्र नेता तथा कार्यकर्ताले मनमा लागेको विचार अभिव्यक्त गर्न पाउँछन् । यसले पार्टीभित्र छलफल र बहस सिर्जना गर्ने भएकाले विचारलाई नयाँ उचाई दिन फरक मतलाई स्वीकार गर्ने परम्परा विभिन्न देशका राजनीतिक दलभित्र रहेको पाइन्छ । तर नेपालमा नेतृत्वभन्दा फरक मत राख्ने नेता तथा कार्यकर्तालाई कारबाहीको डण्डा चलाउने प्रवृत्ति पछिल्लो समय बढ्दो छ । मुलुककै ठूलो कम्युनिष्ट पार्टी करार गरिएको नेकपा (एमाले)ले पछिल्लो एक महिनायता चलाएको कारबाहीको धारावाहिक श्रृंखला यसको पछिल्लो उदाहरण बनेको छ ।
यसैबीच वैकल्पिक शक्तिको ‘मेकअप’मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यतिबेला पुरानै ढर्राको दल प्रमाणित हुँदै गएको छ । ‘जान्नेलाई छान्ने’ नारा आत्मसात गरेको पार्टीले गत शुक्रबार कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गर्यो । निष्कासित भएका महामन्त्री मुकुल ढकाललाई पुनः पार्टीमा फर्काउनुपर्ने रायसहितको चिठ्ठी लेखकै भरमा रास्वपा नेतृत्वले उनलाई अर्को निर्णय नभएसम्मको लागि निलम्बन गरेको हो । स्रोतका अनुसार पार्टीको अनुशासन आयोगले निलम्बन गरेको भनिए पनि नेतृत्वकै निर्देशनमा तिम्सिना कारबाहीको शिकार बनेका हुन् ।
रविको भुलभुलैया र बैंकको जागिर
विराटनगर घर भएका तिम्सिना रास्वपामा आबद्ध हुनुअघि एनएमबी बैंकमा मधेश प्रदेश प्रमुख थिए । व्यवस्थापनमा मास्टर्स र कानुनमा बिएलएलबी गरेका उनी बैंकको जागिरले खुशी थिए । राजनीतिप्रति समान्य रुची राख्ने उनी आफूलाई चाहिँ ‘गैरराजनीतिक व्यक्ति’ भन्थे । तर रास्वपा सभापति रवि लामिछानेको संगतले उनी राजनीतिमा होमिए । ‘म त जीवनमा कहिल्यै राजनीतिक नगरेको मान्छे हुँ’, उनले भने, ‘वैकल्पिक शक्ति बन्नुपर्छ, पुराना दलभन्दा फरक हुनुपर्छ, कार्यकर्तारहित पार्टी बनाउनुपर्छ भनेर यता लागियो ।’
तर, अहिले शुरुवाती दिनमा देखिएका सपनाहरु विस्तारै तुहिँदै गएको तिम्सिनाको अनुभव छ । रास्वपा पनि पुराना दलभन्दा केही फरक नभएको तर्क गर्दै थपे, ‘आखिर रास्वपाभित्र पनि पुरानै दलको प्रवृति छ भने किन वैकल्पिक शक्तिको ढिन्डोरा पिट्ने ?’
पार्टी नेतृत्वले आफूमाथिको कारबाहीमा पुनर्विचार गर्ने तिम्सिनाको विश्वास छ । पुराना दलका नेताहरुझैँ खेलोफड्को गर्न नआउने र राजनीतिलाई सेवाको रुपमा स्थापित गर्न चाहने नेताहरुलाई कारबाही गर्दै जाने हो भने रास्वपाको भविष्य संकटमा पर्दै जाने उनले बताए । ‘३३ वर्षसम्म पुराना नेताहरुले के गरे ? त्यही प्रश्न उठाएर हामीले देशभर १२ लाख मत पायौँ । तर अहिले प्रश्न नै नरुचाउने प्रवृति हावी हुने हो भने त्यो मत खाफै गुम्छ’ , उनले भने ।
रवि– फादर, मुकुल– मदर
रास्वपा निर्माणको सुरुवाती दिनहरुमा कार्यकर्ता पंक्तिले सभापति लामिछानेलाई ‘फादर’ र मुकुल ढकाललाई ‘मदर’मान्ने गरेको तिम्सिनाले खुलाए । गत असार १९ गते पार्टीले ढकाललाई निस्कासित गरेर गल्ती गरेको पनि उनको विश्लेषण छ । ‘हामीले सभापतिज्युलाई फादर र डाक्टर’साप (ढकाल)लाई मदर मानेका थियौँ, तर उहाँहरुबीच डिभोर्स भयो’, उनले भने, ‘हामीले सन्तानको रुपमा कस्को गल्ती छ भन्दा पनि फादर र मदरलाई सँगै मिलाएर राख्ने प्रयास गर्नुपर्छ, यही आशयको चिठ्ठी लेखेपछि मलाई कारवाही भयो ।’
ढकालले केही गल्ती गरे पनि पार्टी नेतृत्वले झन् ठूलो गल्ती गरेको उनको जिकिर छ । ‘यहाँ त के भइदियो भने डाक्टर सापले एक लाखको गल्ती गर्नुभयो, पार्टीले एक करोडको कारबाही गर्यो, अनि क्षति चाहिँ एक अर्बको भएको छ’, उनले सुनाए ।
टिप्पणीहरू