नयाँ दिल्लीबाट तीन राजदूतको आगमनपछि चार देशका राजदूत शीतल निवास जाँदै

नयाँ दिल्लीबाट तीन राजदूतको आगमनपछि चार देशका राजदूत शीतल निवास जाँदै

राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि दिउँसो २ बजे विशेष कार्यक्रमको आयोजा गरिँदैछ । उक्त अवसरमा नेपालका लागि चार मुलुकका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम छ । 

राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, लाओस र इरानका राजदूतहरुले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दैछन् । त्यसका लागि जापान बाहेक अरु सबै नेपालका लागि गैर आवासीय राजदूत हुन् । उनीहरुमध्ये तुर्कमेनिस्तान र लाओसका राजदूत हिजै नयाँ दिल्लीबाट काठमाडौं आइसकेको बताइन्छ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि इरानका गैर आवासीय राजदूत डाक्टर इराज इलाही आज बिहान काठमाडौं आएका हुन् । भोलिको कार्यक्रमपछि उनीहरुमध्ये तुर्कमेनिस्तान र लाओसका राजदूत पर्सि शुक्रबार, इरानका शनिबार नयाँ दिल्ली फर्कने कार्यक्रम छ । शीतल निवासमा आयोजित कार्यक्रममा सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले चार जना अधिकृतलाई प्रोटोकल अफिसर तोकेको छ । ऋचा भट्टराई, प्रवीण भट्टराई, सौरभ न्यौपाने र विनोद खनाल चार जना राजदूतको निम्ति प्रोटोकल अफिसर तोकिएका हुन् ।

टिप्पणीहरू