साढे चार अर्ब फिर्ता गराइदिन ६ हजार बचतकर्ताको उजुरी
सहकारीका झन्डै साढे ६ हजार बचतकर्ताले साढे चार अर्ब बढी बचत फिर्ता गराइदिन मागसहित काठमाडौँ महानगरमा निवेदन दिएका छन् ।
महानगरको सहकारी विभागका अनुसार ११८ वटा सहकारीका ६ हजार २६६ जना बचतकर्ताले चार अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ मागदाबीसहित निवेदन दर्ता गराएका हुन् । यी उजुरीउपर आवश्यक अनुसन्धान र कारबाहीका निम्ति प्रहरीलाई पठाएको विभागले जनाएको छ ।
अहिले महानगरभित्र एक हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्था सूचना प्रणाली (कोपोमिस) मा एक हजार ७४४ सहकारी दर्ता भएकोमा वार्षिक प्रतिवेदन बुझाउने सहकारीको संख्या ८३४ मात्र रहेको विभागको भनाइ छ ।
विभागमा बचतकर्तासहित सहकारी सञ्चालक समितिका सदस्य, ऋणी, घरधनी र कर्मचारीहरुको समेत गुनासो तथा उजुरी आउने गरेको छ । ऋण नतिरेको, सबै सञ्चालक सक्रिय नभएको, बचतकर्ताले तनाव दिएको, आफू सञ्चालक भएको आफैँलाई जानकारी नभएको, हुलाकबाट राजीनामा दिएर कार्यालयको दायित्व नलिएकोजस्ता धेरै गुनासा आइरहेको छ ।
यस्तै, बचत तथा शेयर रकम फिर्ता नदिएको, बचत रकममा धेरै करकट्टी गरेको, प्रहरीले चासो नदिएको, सञ्चालकहरु भाग्न लागेको, समयमै साधारण सभा नभएको, कार्यालय बन्द हुने गरेको गुनासो बचतकर्ताबाट आउने गरेको विभागले जनाएको छ ।
ऋणीहरुले सहकारीले मीटरब्याज लिएको, थाहै नदिई घरजग्गा लिलाम प्रक्रिया अघि बढाएको, घरजग्गा रोक्का गरेको गुनासो गरेका छन् । विभागका अनुसार सहकारीहरुसँग घरधनीहरुको समस्या पनि जटिल छ ।
सहकारीले घरभाडा नतिरेको, कार्यालय धेरै समयदेखि राखेको, कार्यालय सञ्चालन भए नभएको जानकारी नदिएको, बचतकर्ता आएर कार्यालय तोडफोड गर्दा आफ्नो घरको संरचना नष्ट भएको बिग्रिएको अधिकांश घरबेटीको गुनासो छ ।
यता, कर्मचारीहरुले तलब नपाएको, थाहै नदिई सञ्चालक बनाएको, बचतकर्ताले चर्को दबाब दिएको लगायतका गुनाना लिएर आउने विभागको भनाई छ ।
सहकारीमा यस्ता समस्या देखिनुमा स्वनियमको पालना नहुनु, लोकतान्त्रिक नियन्त्रण प्रणाली नचल्नु, एकाधिकार हुनु, लगानीका क्षेत्रमा मापदण्ड नमान्नु, सिद्धान्तको अनुशरण नगर्नुजस्ता कारण विभागले औल्याएको छ । त्यस्तै, उद्देश्यविपरीत लगानी, क्षेत्राधिकार बाहिरको बचत स्वीकार, सदस्य बाहिर कारोबार, एकाघर व्यक्ति वा एक व्यक्ति नियमविपरीत सञ्चालक रहने जस्ता बेतिथिले सहकारी समस्या जटिल बनेको विभागको निचोडछ ।
टिप्पणीहरू