सेवासुविधा कटौती नभएको प्रहरी मुख्यालयको प्रष्टोक्ति
नेपाल प्रहरी प्रधान कार्यालयले औषधी उपचारबापतको रकम कट्टा हुने भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु झुठ्ठो भएको बताएको छ । कार्यालयले त्यस्ता समाचारप्रति विश्वास नगर्न आफ्ना प्रहरी कर्मचारीहरुलाई आग्रह गरेको हो ।
कार्यालयको प्रशासन विभागअन्तर्गत बजेट शाखाका प्रहरी नायव महानिरीक्षक सुशिलसिंह राठौरले बजेट सञ्चालन गर्ने सबै कार्यालयलाई पत्राचार गर्दै प्रहरी कर्मचारीले पाउने कुनै पनि सेवासुविधाको कटौती नभएको र नहुने जानकारी गराएका छन् । थप सेवासुविधाका लागि प्रहरी संगठनबाट विशेष पहल भइरहेको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीको सेवासुविधा कटौती नभएको सूचना पाटीमा टाँस गर्न निर्देशन दिएका छन् ।
‘हाल विभिन्न माध्यमहरुबाट औषधी उपचार बापतको रकम कट्टा हुने भन्ने भ्रामक खबरहरु तथा अफवाहसमेत फैलाएको पाइएकोले त्यस्ता अफवाहमा कुनै पनि सत्यता नरहेको र प्रहरी कर्मचारीहरुले पाउने सेवासुविधामा कुनै पनि कटौती नहुने–नभएको तथा अझ थप सेवासुविधा प्राप्तिको लागि प्रहरी संगठनबाट विशेष पहल भइरहेको व्यहोरासमेत त्यहाँ कार्यालयहरुले आ–आफ्नो मातहत तल्लो दर्जाका प्रहरी कर्मचारीहरु समेतलाई जानकारी गराई सूचना पाटीमा समेत टाँस गर्न–गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ’,पत्रमा उल्लेख छ ।
त्यसैगरी, कार्यालयका सबै विभाग, निर्देशनालय, महाशाखा, शाखा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र सबै प्रदेश प्रहरी कार्यालयहरुलाई पनि पत्रबारे जानकारी गराउन शाखाले भनेको छ । प्रहरी कर्मचारीहरुले प्रहरी नियमावली, २०७९ बमोजिम औषधी उपचारलगायत विभिन्न सेवासुविधा प्राप्त गर्दै आएका छन् ।
टिप्पणीहरू