‘लुटको धन, फुपुको श्राद्ध’ शैलीमा मन्त्रीको रिसोर्टमा संसदीय समिति बैठक

‘लुटको धन, फुपुको श्राद्ध’ शैलीमा मन्त्रीको रिसोर्टमा संसदीय समिति बैठक
सुन्नुहोस्

वर्तमान क्याबिनेटका एक जना सदस्यले मन्त्रालयको बजेट आफ्नो रिसोर्टतिर पुर्याएको चर्चा सिंहदरबारमा व्यापक छ । नेपाल स्काउटको जग्गा हिनामिना प्रकरणमा मुछिएका र नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयासमा लागेको भनिएका ऊर्जामन्त्री दीपक खड्कामाथि गम्भीर आरोप लागेको छ ।

संसद्को हिउँदे अधिवेशनअघि जलस्रोत विधेयकमाथि दफावार छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक रिसोर्टमा राखिएपछि मन्त्रीको ‘बदमासी’ बाहिर आएको बताइएको छ । अघिल्लो साता प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सदस्यलाई बैठकको खबर पठाएको थियो । ऊर्जा क्षेत्रका विज्ञसमेत सहभागी हुने भनिएको उक्त कार्यक्रम सिंहदरबारस्थित मन्त्रालयको वा समितिकै बैठक हलमा राखिने धेरैको अनुमान थियो । 

तर, मन्त्री खड्काले बूढानीलकण्ठस्थित आफ्नो रिसोर्टमा कार्यक्रम आयोजना गरे । सोमबार बिहान १० बजे रिसोर्ट पुगेका सांसदहरु मंगलबार अपराह्न फर्किएका थिए । कार्यक्रम मन्त्रीको स्वामित्व रहेको रिर्सोटमा गर्न लागेको चाल पाएपछि समितिमा रहेका नेकवा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत, माधव सापकोटा र उर्मिला माझीले बहिष्कार गरेका हुन् । 

सिंहदरबारमा बस्नुपर्ने बैठक मन्त्रीको रिर्सोटमा पुर्याएपछि बहिष्कार गरेको सांसद सापकोटाले जानकारी दिए । मन्त्री खड्काले स्वार्थअनुकूलको प्रस्ताव र पारित गराउँदै रिर्सोटको आम्दानी बढाउन त्यहाँ बैठक राखेको उनको दाबी छ । 

‘उहाँ आफैँले दुई ठूला विद्युत आयोजनामा सेटिङ गरेको भन्ने छ, यसबारे उहाँले स्पष्ट पार्नुपर्दैन ?’, सापकोटाले भने, ‘अनि बैठक नै आफ्नो रिसोर्टमा राखेर आफ्नो फेभरको निष्कर्ष निकाल्ने काम हामीबाट स्वीकार्य हुँदैन, हामी गएनौँ ।’

सहभागी सांसदहरुका लागि रिसोर्टमा उच्चस्तरीय खानपिनको व्यवस्था गरिएको थियो । त्यस्तै, आकर्षक भत्ताको पनि व्यवस्था गरिएको मन्त्रालयका एक कर्मचारीले बताए । उनका अनुसार दुई दिनको कार्यक्रममा मात्रै मन्त्रालयको लाखौँ खर्च भएको छ ।

‘सिंहदरबारमै गरेको भए निकै कम खर्च हुन्थ्यो’, ती कर्मचारीले भने, ‘तर मन्त्रीज्यूले बूढानीलकण्ठमै गर्ने भन्नुभयो । फेरि हामी बढी बोलेको पनि सुहाउँदैन । जे होस्, रिसोर्टको कार्यक्रममा मन्त्रालयले राम्रै खर्च गरेको छ ।’

टिप्पणीहरू