काठमाडौँमा कुटिएका वकिल रुपन्देही जाँदै
अदालत परिसरमै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको आक्रमणमा परेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी रवि लामिछाने प्रतिवादी रहेको सहकारी ठगीको अर्को मुद्दामा पीडितको तर्फबाट बहस गर्न रुपन्देही जान लागेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जाहेरकर्ताको तर्फबाट बहस गर्न उनी केहिबेरमा बुद्ध एयरको जहाजमार्फत् त्यता जान लागेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने, पूर्व डिआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको थियो ।
बरिष्ठ अधिवक्ता त्रिपाठीले प्रतिवादीविरुद्ध थुनछेक बहस गर्नेछन् । त्यसनिम्ति आफू रुपन्देही जान लागेको उनले जानकारी दिए ।
त्रिपाठीले काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा पनि जाहेरी दिने बचतकर्ताको तर्फबाट बहस गरेका थिए । प्रतिवादीहरुलाई पूर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै बहस गरेका उनीमाथि जिल्ला अदालत परिसरमै रास्वपा कार्यकर्ताले हातपात गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू