अध्यादेश आउँदा निजि क्षेत्र उत्साही
सरकारले हालै ल्याएको अध्यादेशले निजि क्षेत्रको प्रवर्द्धन गर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ उत्साहित देखिएको छ । संसद छलेर अध्यादेश जारी गरिएको भन्दै सत्तारुढ दलकै नेताहरुले आपत्ति जनाइरहँदा निजि क्षेत्रको नेतृत्वदायी संस्था उद्योग वाणिज्य महासंघ भने सन्तुष्ट देखिएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ती अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धि गर्न प्रोत्साहन गरेको बताएका छन् । म्याग्दीको बेनीमा आयोजित ‘आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेला’ को समापन समारोहमा बोल्दै उनले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिए ।
‘सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’,उनले भने,‘निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।’
कोरोना महामारी, रुस र युक्रेनबीचको युद्ध तथा नेपालका विद्यमान ऐनकानुनका कारण संकुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रले दिएको सुझावअनुसार सरकारले अध्यादेश ल्याएको उनको जिकिर छ । त्यसैगरी, उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भएकोमा खुशी पनि व्यक्त गरे ।
म्याग्दीको उद्योगी, व्यवसायीहरुले तयार पार्ने कृषि, पर्यटन, जलस्रोतसम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासंघमार्फत सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष ढकालले नेपालमा प्रशस्त प्राकृतिक स्रोतबाट हुने आम्दानीको विषयमा नकारात्मक भाष्य निर्माण भएकोमा आफू दुःखी भएको बताए ।
यता, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको बताउँछन् ।
गत पुस २८ गतेदेखि शुरु भएको महोत्सवमा स्थानीय औद्योगिक उत्पादनका २३० व्यापारिक स्टल थिए । खेलकुद, लोकदोहोरी गीत, मौलिक गीत र नृत्य, कृषि मेला प्रदर्शनी, कलाकारहरुको गीत तथा नृत्य प्रस्तुति रहेको महोत्सवमा करिब १० करोड रुपैयाँको कारोबार भएको थियो भने एक लाख बढी दर्शकले अवलोकन गरेका थिए ।
टिप्पणीहरू