बेपत्ता एक दर्जन प्रहरीको खोजतलास
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता एक दर्जन कर्मचारीको खोजतलास शुरु गरेको छ । विभिन्न मितिमा आफूखुशी गैरहाजिर रहेका कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन निर्देशन दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जा तालिम शाखा दरबन्दी भएका प्रहरी हवल्दार रघुनाथ हजाम, प्रहरी चौकी थेचम्बुका प्रहरी सहायक हवल्दार धनबहादुर कार्की, ईलाका प्रहरी कार्यालय, दल्लीका प्रहरी सहायक निरीक्षक चेतन महतरा, मुख्यालयको कार्य विभागअन्तर्गत सञ्चार निर्देशनालयका प्राविधिक प्रहरी जवान कृष्ण गिरीलाई सम्पर्कमा आउन भनिएको छ ।
त्यसैगरी, प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी जवान मित्र योञ्जन, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी जवान रुपक साउद, सिंहदरबार सुरक्षा गणका प्रहरी जवान खेमराज राना, प्रहरी बैण्ड शाखा, जनकपुरधामका प्राविधिक प्रहरी जवान असलम मिया भाड, ईलाका प्रहरी कार्यालय, नवलपुरका प्रहरी जवान दिलिपकुमार साहको नाममा पनि सूचना जारी भएको छ ।
बेपत्ता हुने अन्य प्रहरी जवानमा जिल्ला प्रहरी कार्यालय, सिरहाका राजेशकुमार साह, नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, मकवानपुरका रामबहादुर माझी, प्रहरी चौकी, हटियाका शम्भु विश्वकर्मा, प्रहरी चौकी महम्मदपुरका अर्जुनकुमार पुन मगर, प्रहरी चौकी, फिकुरेका गोपाल थारु रहेका छन् ।
मुख्यालयले सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको अवधिमा उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा सोही नियमावलीको नियम १०१ को उपनियम (ख)(१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
टिप्पणीहरू