रिह्याबमा पनि राम्रै खाना

रिह्याबमा पनि राम्रै खाना
सुन्नुहोस्

अलिकति चटनीजति,थोरै  तरकारी, तङ्ग्रङ्ग दाल अनि भात । प्रायः रिह्याबमा क्लायन्टहरुलाई खुवाउने खाना हो यो । रिह्याब जाने कति त खाना देखेरै रुन्छन् । अचारजति इत्ति,तरकारी पनि हरियो परियो त कहिलेकाहीँ मात्र,नत्र धेरैजसो सोयाबिन (मस्यौरा) र आलु नै हो रिह्याबहरुमा क्लायन्टलाई पाक्ने तरकारी भनेको ।

त्यही सोयाबिन र आलु पनि भागमा एकटुक्रा बढी परे अलि धेरै भात खान्थें भन्ने हुन्छ । हप्तामा एकपटक दुई–तीन चोक्टा मासु खान बार नै कुरेर बस्नुपर्छ । हप्ता,दुई हप्तामा कहिलेकाहीँ एउटा हरियो खुर्सानी भातसँग खान दिँदा चाड नै आएजस्तो हुन्छ क्लायन्टहरुलाई । धेरैजसो रिह्याबहरुमा यस्तै गरिन्छ खानामा । 

तर भरतपुर,चितवनको नौरंगेस्थित न्यू वे फाउण्डेशनको खानामा त्यस्तो ‘फिल’ छैन । तरकारी कचौरामा पुग्ने जति दिइन्छ भने दाल पनि बाक्लै खुवाइन्छ – दालभात मात्रै खाँदा पनि स्वादिष्ठ । अन्य कैयौं रिह्याबमा तरकारीमा तेल र मसलासमेत नाम मात्रको हालिने गरेको परिप्रेक्ष्यमा न्यू वे फाउन्डेसनमा त पछिल्लो समय दाल पनि घिउले झानेर खुवाइएको छ । यहाँ हप्तामा एकपटक अण्डा करी र मासु हप्तामा दुईपटक मिठैगरी पकाएर खुवाइन्छ । 
न्यू वे फाउन्डेसन सुधार केन्द्रका सञ्चालक ध्रुव केसी आफैं रिह्याब आएर ‘खानामा कहिल्यै कसैलाई फिल नगराउनू,खाना राम्रो र मीठै खुवाउनू,खानेकुरामा कुनै कन्जुस्याइँ नगर्नू’ भनी स्टाफ र किचनकालाई बारम्बार भन्ने गरेका छन् । यहाँ बिहान खाजामा चिया चना दिँदा पनि भिजाएको चना मजाले तेलमै भुटेर पकाइवरी चिउरासँग दिइन्छ । अरुतिर रिह्याबमा खाजामा दिइने चना केराउ पनि उसिनेजस्तो हुन्छ ।

ध्रुव केसीले क्लायन्टहरुलाई बेलाबेलामा आँप,केरा जस्ता मौसमी फलफूल आफैं ल्याएर सबैलाई बाँडिदिन्छन् । गर्मीमा सातु पनि लगिदिने गरेको देखिन्थ्यो । दशैंमा खसी,बोका काट्दा पनि यहाँ क्लायन्टहरुलाई मासु मीठो ढंगले पकाएर पेटभरि छेलोखेलो हुने गरी नै खुवाएको पाइन्छ । न्यू वे फाउन्डेसनमा क्लायन्टहरु सुत्ने घरमा ध्रुवले एसीसमेत जोडिदिएका छन् । ख्याल रहोस्,विगतमा आफ्नै ज्यान थापेर चितवनमा रवि लामिछानेलाई बचाउन अघि सरेका व्यक्ति हुन्,ध्रुव केसी । तर पछिल्लो समय रविका कर्तुत तथा आर्थिक काण्डहरु एकपछि अर्काे गर्दै पर्दाफास भइरहँदा उनका समर्थक तथा शुभचिन्तकहरुमा के बितेको होला ! धेरै कार्यकर्ता पश्चातापले थकथकाइरहेको पाइन्छ । 

टिप्पणीहरू