महाभारत श्रृंखलाको आगो निभाउन ‘महाभारत’, हेलिकप्टर खोजिँदै
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत पर्वत श्रृंखलामा लागेको भीषण आगलागी नियन्त्रणमा लिन हेलिकप्टर प्रयोग गर्ने तयारी छ । खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेख क्षेत्रमा अस्ति दिउँसो २ बजेबाट सल्केको आगो निभाउन सुरक्षा निकायलाई समेत सकस भएको छ ।
स्थानीय र प्रहरीले दुई दिनसम्म डढेलो निभाउने प्रयास गरे पनि नियन्त्रण बाहिर गएपछि हेलिकप्टरबाट आगो निभाउने तयारी गरिएको बताइन्छ । डढेलो निभाउन आज बिहानबाट थप सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला वन कार्यालयमा सम्बन्धित निकाय प्रमुखहरुको बैठक बस्दैछ ।
‘स्थानीय, प्रहरी र सेना परिचालित छन्, तर पनि डढेलो नियन्त्रण बाहिर गएको छ’, उनले जनआस्थासँग भने, ‘हेलिकप्टर प्रयोग गरेर आगो निभाउन सकिन्छ भनेर सोचिरहेका छौं, एकछिनमा बैठक बस्दैछौं, बैठकपछि तत्काल प्रदेश र संघीय सरकारसँग समन्वय गछौँ ।’
आगो लागेको क्षेत्र निकै भिरालो भएकाले नियन्त्रणमा लिन कठिनाई भइरहेको प्रजिअ ढकालले बताए । ‘त्यो जंगल पूरै ठाडो छ, निकै डरलाग्दो भीर भएकाले सजिलैसँग जाने बाटो छैन’, उनले थपे ।
डढेलो चाँडो नियन्त्रणमा ल्याउन नसके बस्तीमा प्रवेश गर्ने सम्भावना बढेको छ । पहाडी क्षेत्र र त्यसमाथि अत्यधिक हावा हुरी चलिरहने भएकाले आगो तीब्र गतिमा फैलिरहेको बताइन्छ ।
टिप्पणीहरू