रविको मुध्दा आज पनि यत्तिकै
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा आज बिहानदेखि शुरु भएको बहस नसकिएपछि भोलि सूचारु गर्नेगरी हेर्दाहेर्दैमा गएको हो । आज सरकारी वकिलले र जाहेरकर्ताका तर्फबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरे ।
भोलि जाहेरकर्ताका तर्फबाट थप बहस हुनेछ । त्यसपछि प्रतिवादीका वकिलले प्रतिरक्षा बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिनका लागि लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको छ । थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिजोजस्तै आज पनि परिवारको जिम्मा लगाइएको छ ।
आज बिहान इजलास शुरु हुनुअघि सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि गम्भीर प्रश्न उठाएका थिए । लामिछानेलाई परिवारको जिम्मामा छाड्नु गलत भएको जिकिर गर्दै उनीहरुले “रिक्युजल” लिनुपर्ने तर्क गरेका थिए ।
न्यायाधीशले मुद्दा हेर्न नमिल्ने अवस्थालाई वकिलहरुले रिक्युजल भन्ने गर्छन् । थुनछेकको क्रममा बयान दिन आएका प्रतिवादीलाई परिवारको जिम्मामा छोड्ने न्यायाधीशको निर्णयले सम्भावित आदेशको अनुमान गर्न सकिने भन्दै उनीहरुले मुद्दा नहेर्न माग गरेका थिए । तर, न्यायाधीश योगीले त्यसलाई स्वीकार गरेनन् ।
टिप्पणीहरू