रविको मुद्दामा आज पनि सकिएन थुनछेक बहस

रविको मुद्दामा आज पनि सकिएन थुनछेक बहस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुध्दाको थुनछेक बहस आज पनि हेर्दाहेर्दैमा राखिएको छ । 

रुपन्देही जिल्ला अदालतमा आज बिहानदेखि शुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । आइतबार बिहान साढे १० बजे उपस्थित हुनेगरी रविलाई परिवार र वकिलको जिम्मा लगाइएको उनले जानकारी दिए । 

‘पीडितको तर्फबाट दुई जना र प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरे । आज बहस नसकिएपछि उनलाई पर्सि बिहान उपस्थित हुनेगरी परिवार र अधिवक्ताको जिम्मा लगाएर पठाइएको छ’, ज्ञवालीले भने । 

पर्सि दिनभरमा थुनछेक बहस सकिने र साँझ आदेश आउनसक्ने उनको अनुमान छ । 

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा गत बुधबार अदालतमा उपस्थित भएका रविको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भइरहेको छ ।

टिप्पणीहरू