होलीमा ह्वात्तै बढ्यो मासुको अवैध आयात

रुपन्देहीको मर्चवार क्षेत्रमा भारतबाट तयारी मासु अवैध रुपमा आयात भइरहेको छ । होली पर्वको मौका छोपेर तस्करहरुले दिनदहाडै ठूलो परिमाणमा कुखुरा र खसीको मासु भारतबाट निर्वाध रुपमा ओसारेका हुन् । खुला सिमानाको फाइदा उठाउँदै तस्करहरुले कोटहीमाई गाउँपालिकामा रहेको खनुवा डाली र मुर्दैया क्षेत्रबाट कुखुरा तस्करी गरेको बताइन्छ ।
हैदर, चिनक, नसरुद्धिन र सुनिल कहाँर नामका व्यापारीहरुले कुखुरा, खसी र बाख्राको तस्करी गरेको स्थानीय बताउँछन् । उनीहरुले ब्रोइलर र कोइलर कुखुरा, खसी बाख्रा जिउँदै एवम् तयारी मासु ल्याएका हुन् । सीमापारी कुखुराको तयारी मासु २६० रुपैयाँ प्रतिकेजी छ भने सीमावारी मर्चवारमा ३६० रुपैयाँ तोकिएको छ । प्रतिकेजी एक सय रुपैयाँ नाफा हुने भएपछि कुखुराको तयारी मासु ठूलो परिमाणमा अवैध तवरले ल्याइएको हो ।
सोही मासु बुटवलमा ४०० रुपैयाँ प्रति केजी तोकिएको छ । रुपन्देहीमा आज र भोलि दुई दिन होली मनाइन्छ । होलीमा मासुको खपत अधिक हुने गर्दछ । यसैले तस्करहरुले पर्वलाई मध्यनजर गर्दै पछिल्लो केही दिनदेखि मासुको चोरी तस्करी गरेका हुन् ।
सीमा क्षेत्रको मर्यादापुर र बेथरीमा प्रहरी चौकी छ । असई निर्दोष जिसी र सई जनक गिरी केही समय अघिसम्म ती क्षेत्रको सुरक्षा जिम्मेवारीमा थिए । अहिले इन्सपेक्टर सविता जिसीले बेथरीको कमान्ड सम्हालेकी छन् । असई राजेन्द्र रावल पनि बेथरी पुगेका छन् । यसअघि उनी मर्चवारका विभिन्न चौकीमा कुनैमा इन्जार्च र कुनैमा कार्यरत थिए । तस्करहरुले मर्यादापुर, मझगाव हुँदै ल्याइएका सामान अमुवा, फर्साटिकर हुँदै बुटवलसम्म पुर्याउने गरेका छन् ।
मर्चवारमा तौलनले अवैध कपडाका व्यापारी हुन् । सुभाष मौर्या, रमेश र तौलनले कपडाको कारोबार गर्ने मुख्यमा पर्छन् । लल्लनले चिनीको, दिनेशले ब्रानको, राजकुमारले किराना सामानको कारोबार गर्दछन् । तस्करहरुले मर्यादपुर, शिवपुर, गोनाहा हुँदै तिनाउको झोलुंगे पुल तरेर रमवापुर निस्कने रुट पनि बनाएको पाइएको छ ।
कुनैबेला रक्तचन्दनको कारोबारमा बद्नामी कमाएको मर्चवार यतिबेला तस्करीको अखडा बन्दै गएको छ । केहि महिनाअघि सो क्षेत्रमा राजश्व र भन्सारको टोली फरक फरक तस्करीको सामान नियन्त्रण गर्न जाँदा तस्करहरुले भाला र लाठी हानेर कर्मचारीलाई लखेटेका थिए । त्यतिबेला लुम्बिनी इप्रकाका इन्सपेक्टर समेत घाइते भएका थिए । कतिपयले मर्चवारमा प्रहरीको संरक्षण कै कारण तस्करहरुको मनोबल बढेको भन्ने गरेका छन् । नेपाल प्रहरीसँगै सो क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलमाथि पनि उक्त आरोप लागेको हो ।
टिप्पणीहरू