कालो कोटमा पनि काङ्ग्रेस-एमाले मिल्दा अन्तरकलह

नेपाल बार एशोसिएसनको नेतृत्वमा काँग्रेस निरन्तरता रोकेर 'वामपन्थी झण्डा' गाड्ने अवसर कम्युनिष्टहरुले यसपटक पनि गुमाउने देखिएको छ । बारको आगामी २ वर्षे नयाँ कार्यसमिति चयनका लागि चैत २३ गते निर्वाचन हुँदैछ, जहाँ दुई ठूला संगठन नेपाली काँग्रेसको डिएलए र एमालेको पिपिएलएले तालमेल गरेका छन् ।
९ हजार ९९६ मतदाता रहेको नेपाल बारमा डिएलए यसै पनि पहिलो शक्ति हो । वामपन्थीहरु मिलेको बेलाबाहेक उसले निरन्तर चुनाव जित्दै आएको इतिहास छ । यसपटक दोस्रो धेरै मतदाता भएको पिपिएलएले समेत भोट खन्याइदिने भएपछि डिएलएका उम्मेदवार विजयप्रसाद मिश्रको जित लगभग निश्चित देखिन्छ । माथिबाट लादिएको गठबन्धनप्रति चरम असन्तुष्टि भए पनि पहिलो र दोस्रो धेरै मत भएकाहरु मिलेको स्थितिले जतिसुकै भोट क्रस भए पनि परिणाम पल्टिने तहमा गडबडी नहुनेमा सरकार पक्षीय वकिलहरू ढुक्क छन् ।
तर, प्रश्न उठिरहेको छ- अघिल्लो दिनसम्म अनामनगरका रेस्टुरेन्टमा वामपन्थी एकताको बहस चलाउनेहरु एकाएक किन कांग्रेससँग मिल्न पुगे ? डिएलए र पिपिएलएलबीच तालमेल कसरी सम्भव भयो ? एकथरीले भन्दैछन्,माओवादीनिकट आरपिएलएका रमणकुमार श्रेष्ठले बारमा एमालेको नेतृत्व स्वीकार नगर्ने अडान लिएपछि परिस्थिति मोडिएको हो । कुनै पनि हालतमा पिपिएलएलाई अध्यक्ष नछोड्ने उनको बटमलाइन नै वाम एकता भाँडिने कारण बनेको तिनीहरुको दाबी छ ।
एमालेको पिपिएलए,माओवादीको आरपिएलए र एकीकृत समाजवादी सम्वद्ध एसपिएलएका नेताहरुबीच चरणवद्ध वार्ता र छलफल पनि भएको हो । शुरुका केही छलफलमा तीन वटै संगठनका नेताहरु मिलेर जान तयार भएका थिए । पिपिएलएका अध्यक्ष भोजराज आचार्यले त 'वाम गठबन्धन' नभए संगठन छोड्ने भन्दै पार्टी नेतृत्वलाई चेतावनीसमेत दिए । सकारात्मक दिशामा अघि बढिरहेको छलफल पछिल्लो चरणमा आइपुग्दा पार्टीको हस्तक्षप र नेतृत्व विवादका कारण भाँडियो ।
पिपिएलए र डिएलएबीच सहमति हुनुअघिको अन्तिम बैठकमा आरपिएलबाट रमण स्वयं उपस्थित थिए । पिपिएलको तर्फबाट डिल्ली मैनाली र अमर थापा रहेको सो बैठकमा रमणले पिपिएललाई कुनै हालतमा अध्यक्ष नछोड्ने बरु एक्लै लड्ने बटम लाइन सुनाए । आरपिएलएका चन्डेश्वर श्रेष्ठलाई विगतमा सघाएको पिपिएलए यसपटक भने अध्यक्ष छोड्न तयार थिएन ।
सीताराम केसीले धेरै पहिले नै एकमात्र अध्यक्षको उम्मेदवार भनेर यदुको नाम प्रचारमा ल्याएका थिए । तर, संस्थापनको रोजाइमा उनी नपरेपछि वीचको पात्र खोज्ने क्रममा विजय मिश्रलाई टिकट दिइएको हो ।
पिपिएलएलबाट टिकाराम भट्टराई, ईश्वरीप्रसाद भट्टराई, पोखराका सुरेन्द्र थापा मगर,विराटनगरका रमेश कोइराला र काठमाडौँका शेरबहादुर कार्कीले अध्यक्षमा रहर गरेका थिए । पाँचजना आकांक्षीबाट टिकारामलाई अगाडि सारेर वाम तालमेल गर्ने प्रयास थियो । तर, रमण तयार नभएपछि पात्रको विकल्पमा छलफल गर्न सकिने भन्दै सतिशकृष्ण खरेलको नाम पनि चर्चामा ल्याइयो ।
'आरपिएलएले अध्यक्षमा रमणको एकमात्र उम्मेदवारी घोषणा गरेर बटमलाइन नै यही हो भन्ने हिसाबले प्रस्तुत भएपछि हामी बाध्य भएर डिपिएलसँग मिल्न गएका हौँ', पछिल्लो वार्तामा सहभागी एक जना वकिलले भने, 'पात्रमा समस्या हो कि भनेर विकल्पमा सतिशकृष्ण खरेलको नाम दिंदा पनि उहाँले बरु एक्लै उठेर हार्ने तर एमालेको नेतृत्व बारमा स्वीकार नगर्ने भन्नुभयो ।'
पिपिएलएले रमणका कारण वाम एकता अप्ठेरोमा परेको भनिरहँदा आरपिएलए र एसपिएलएका नेताहरुले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई कारण मानेका छन् । टिकाराम र रमण दुबै मन नपरेका कारण ओलीले बरु डिएलएलाई दिन चाहेको ठान्नेहरु पिपिएलएमै पनि छन् । फलत: पत्रकार महासंघमा जस्तै बारमा पनि सरकारी गठबन्धन बन्यो र एक्ला-एक्लै चुनाव लड्ने कांग्रेस र एमालेको दाबी 'पानीको फोका' सावित हुन पुग्यो ।
यता, उम्मेदवारबारे विभिन्न विकल्पमा छलफल जारी रहँदा पार्टी सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि डिएलएमा आन्तरिक किचलो चर्किएको छ । डिएलएबाट यदु खनाल प्रमुख दाबेदार थिए भने संस्थापन पक्षले योगेन्द्र अधिकारीलाई अघि सार्न खोजेको थियो । अध्यक्ष सीताराम केसीले धेरै पहिले नै एकमात्र अध्यक्षको उम्मेदवार भनेर यदुको नाम प्रचारमा ल्याएका थिए । तर, संस्थापनको रोजाइमा उनी नपरेपछि वीचको पात्र खोज्ने क्रममा विजय मिश्रलाई टिकट दिइएको हो ।
गणितीय हिसाबले गठबन्धन बलियो भए पनि उम्मेदवार छनोटमा देखिएको विवाद र वाम एकता पक्षधर समूहको मनोविज्ञानलाई उचित ढंगले सम्बोधन गर्न नसके चुनावी परिणाम पल्टिनसक्ने अनुमानसमेत एकथरीले गरेका छन् । त्यही भएर होला एमालेहरु विजय मिश्रलाई 'एकेडेमिक र पेशागत हिसाबले संघर्षबाट खारिएको' भन्दै प्रशंसायुक्त प्रचार गरिरहेका छन् भने महासचिव उठेका केदार कोइरालाको हकमा कांग्रेसीहरुले पनि त्यसै भनेका छन् । सरकारी गठबन्धनको आरोप नलागोस् भनेर राप्रपालाई पनि संगै मिसाइएको छ, र सदस्यको उम्मेदवार बनाइएका रोमल मैनालीलाई चुनावी अभियानमा संगसंगै हिँडाइएको स्थिति छ ।
टिप्पणीहरू