सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट, के हो लफडा ?

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट, के हो लफडा ?
सुन्नुहोस्

प्रदर्शनको संघारमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा रिट परेको छ । 

फिल्म प्रदर्शन रोक्न आदेश माग गर्दै नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रा. लि. का सम्राट थापाले रिट दायर गरेका हुन् । योसँगै आगामी माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको सो चलचित्रका निर्माता/निर्देशक अन्यौलमा परेका छन् । 

नेपाली डायस्पोरा इन्टरटेनमेन्टले गत वर्ष चलचित्र ‘एक्टर’ घोषणा गरेर निर्माण थालेको थियो । सम्राट थापाको लेखन तथा मदन घिमिरेको निर्देशनमा बनेको चलचित्रमा वरिष्ठ अभिनेता सरोज खनाल, कृष्ण मल्ल, प्रिन्स थापा, शिवानी गिरीलगायतको अभिनय छ । यसको प्रदर्शन मिति माघ ४ गते तोकिएको थियो । तर, अहिलेसम्म चलचित्रमा हलमा लागेको छैन । 

उता ‘एक्टर’ घोषणा भएको केही समयपछि अदृत फिल्म्स र मोती फिल्म्सले मिल्दोजुल्दो नामको ‘एक्टरः टेक वान’ घोषणा गरे । राजन भुसालले निर्देशन गरेको यस चलचित्रमा युवापुस्ताका सेलिब्रेटी कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीलगायतको अभिनय छ । दिलिप रायमाझीकी छोरी दिव्याको यो डेब्यु चलचित्र पनि हो ।

प्रदर्शन मिति नजिकिदैँ गर्दा कलाकारहरु चलचित्रकाे प्रचार प्रसारमा व्यस्त देखिन्छन् । झण्डै एक दशकपछि यसै चलचित्रबाट कमब्याक गरेका अभिनेता राजबल्लभ कोइराला पनि प्रिमियरको लागि भनेर हिजो मात्र अमेरिकाबाट नेपाल आइपुगेका छन् । 

यहीबीच ‘एक्टर’ चलचित्रको निर्माण टिमले ‘एक्टरः टेक वान’विरुद्ध मुद्दा हालेपछि नाम सम्बन्धी विवाद अदालत पुगेको हो । चलचित्र विकास बोर्ड,  ‘एक्टरः टेक वान’को निर्माण कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको रिटमा तत्काल प्रदर्शन रोक्न आदेशको माग गरिएको छ । 

चलचित्रको नाम हुबहु चोरेर ‘एक्टरः टेक वान’को टिमले दर्शकमा आफ्नो चलचित्रबारे भ्रम सिर्जना गरेको र व्यापारमा नराम्रो प्रभाव पारेको ‘एक्टर’ टिमको दावी छ । ‘एक्टरः टेक वान’को कारण आफ्नो चलचित्रलाई सिनेमा हलहरुले समेत पर्दा दिन नमानेको ‘एक्टर’का लेखक थापाले जानकारी थिए ।

उनका अनुसार माघ ४ गतेबाट हलमा लाग्नुपर्ने चलचित्रलाई ‘एक्टरः टेक वान’कै कारण हलहरुले पर्दा नदिएका हुन् । ‘पहिले घोषणा गरेर हामीले बनायौँ, प्रदर्शन मिति पनि हाम्रै अगाडि छ’, थापाले जनआस्थासँग भने, ‘उहाँ (एक्टरः टेक वान)को टिमले हाम्रो नामजस्तै राखेर चलचित्र बनाउनुभएछ, सेलिब्रेटीको लाइनअप छ त्यसमा, अनि हाम्रो चलचित्रविरुद्ध भ्रम सिर्जना हुँदा हलहरुले लिनै मानेनन् ।’

प्रतिलिपि अधिकारको लागि अदालतमा रिट हालेको जानकारी दिदै उनले न्याय पाउने विश्वास व्यक्त गरे । ‘पर्सि (माघ १५) पेशी तोकिएको छ, अदालतले न्याय दिन्छ भन्नेमा विश्वस्त छौँ’, उनले थपे ।
 

टिप्पणीहरू