दक्षिणका भन्सारमा मेलाझैँ तस्करी
संसदको अर्थ समितिले दक्षिणी छिमेकसँग जोडिएका सीमा क्षेत्रबाट मेला लागेझैँ तस्करी भइरहेको जनाएको छ । प्रस्तावित भन्सार विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने उद्देश्यका साथ भन्सार नाकाहरुको प्रत्यक्ष निरीक्षणमा गएका समिति सभापति सन्तोष चालिसे, सांसदहरु सूर्य थापा, नारायणप्रसाद आचार्य, गंगा कार्की, अन्जनी श्रेष्ठ, छिरिङ डम्डुल लामासहितको आठ सदस्यीय टोलीले उक्त निश्कर्ष निकालेका हुन् ।
बाँकेको रुपैडिया, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको सुठौली र भैरहवा तथा नवलपरासीको महेशपुर भन्सार नाकाको अवलोकनपछि उनीहरु पूर्व लागेका छन् । रुपैडिया र कृष्णनगरमा तस्करीको चर्को लाइन देखेपछि मेलाको उपमा दिएको बताइन्छ ।
‘पोका, पन्तुरा बोक्दै सामान भित्रिइरहेको छ, आँखै अगाडि तस्करी भइरहँदा पनि भन्सारका अधिकारी, राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलगायतका सरकारी अधिकारीहरु निरीह देखिएका छन्,’ सभापति चालिसेले उल्लेख गरे । नेपाल–भारत खुल्ला सीमानालाई व्यवस्थित नगरिए राजस्व चुहावटको क्रम झन् बढ्ने उनीहरुको ठहर छ ।
निरीक्षणको क्रममा कृष्णनगर र रुपौडियामा मेला लागे जसरी तस्करी भएको देखेपछि सांसद थापा भन्छन्, ‘ती दुई भन्सारमा बाटो एकातिर र कार्यालय अर्कातिर भएकाले मेला लागेझैं तस्करी भइहेको देखियो । पाँच भन्सारको स्थिति, अवस्था र हविगत हेर्दा भन्सारहरुलाई पूर्वाधार र प्रविधियुक्त बनाउनै पर्छ । जबसम्म पारदर्शी, फेसलेस, क्यासलेस र पेपरलेस हुँदैन, तबसम्म तस्करी नियन्त्रण होला जस्तो लाग्दैन ।’
भन्सार कार्यालयमा रहेका प्रयोगशाला प्रयोगमा ल्याउन र परिचालन गर्न नसक्ने सरकारले भन्सार कार्यालयलाई फेस, पेपर र क्यासलेस बनाउन कसरी संभव हुन्छ त्यो भने प्रतिक्षाकै विषय बनेको छ । थापाले नागरिक सचेत नभएसम्म गलत प्रवृत्ति नरोकिने बताए ।
अर्थ समितिले स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया तथा सुझावसमेत संकलन गरेको थियो । सो अवसरमा समितिलाई सेटिङ्गमा तस्करी हुने गरेको, भारतीय व्यापारीले घर घरमै सामान पुर्याइदिने हुँदा सीमा क्षेत्रमा कार्यरत भन्सार अधिकारी, सशस्त्र र जनपद प्रहरीको मिलेमतो हुने गरेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप रोक्न नीतिगत रुपमै पहल गर्न सुझाव प्राप्त भएको छ ।
महंगा सामानलाई सस्तो मूल्य कायम गरी मिलेमतोमै तस्करी हुने गरेको छ । अर्कातिर बजारमा सर्वसाधारणले सस्तो मूल्यमा समान नपाउने भएकाले केही व्यापारी मोटाउने गरेको पनि समितिलाई सुझाव प्राप्त भएको छ । तस्करीको समान नेपाल भित्रिने र त्यस्ता समान व्यापारीले नै खरिद गर्ने हुँदा व्यापारीमाथि पनि कारबाही हुनुपर्नेमा जोड दिइएको छ ।
चुहावट, मिलावट, सेटिङ्ग व्यापक छ भन्ने सुनेर अनुगमनमा आएको उल्लेख गर्दै सभापति चालिसेले सुनेको कुरा अहिले आँखैले देखेको बताए । समिति सदस्य सांसद गंगा कार्कीले जनसंख्याको ठूलो हिस्सा तराई मधेशमा बस्ने र उनीहरुको ७० प्रतिशत कारोबार अवैध रुपमा भारततिर हुने गरेको दावी गरिन् । तराईमा बस्ने धेरैको कारोबार सीमा पारी हुँदा अवैध तस्करी मौलाउने, राजस्व चुहावट हुने र अपराध समेत बढ्ने देखिएको छ ।
भन्सार क्षेत्रका विकृति, विसंगति हेरेर र सर्वसाधारणदेखि उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेर फर्किएको अर्थ समितिको संसदीय टोलीले अवैध क्रियाकलाप रोक्न के कस्तो नीतिगत निर्णय गर्ने हो, त्यो भने हेर्न बाँकी छ ।
टिप्पणीहरू