कांग्रेस बैठकमा अध्यादेशको विरोध
सत्ता साझेदार नेपाली कांग्रेसका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसदीय दलको बैठकमा सांसदहरुले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै विरोध प्रकट गरेका हुन् ।
सांसद रामहरी खतिवडाका अनुसार अध्यादेश ल्याउँदा किन जानकारी नदिइएको भन्दै बैठकमा मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठेको छ । यस सम्बन्धमा मन्त्रीहरुले जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको पनि उनले जानकारी दिए ।
बैठकमा सांसदहरुले दुई ठूला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गर्दै यसले जनतामा निराशा छाएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।
'सरकारले ल्याएको अध्यादेशको सवालमा केही साथीहरुले सहमति छैन भन्ने कुराहरु गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरुसँग छलफल गरिएन । यो ठिक भएन भनेर केही माननीय सदस्यहरुले कुराहरु राख्नुभयो', सांसद खतिवडाले भने, 'मन्त्रीहरुले जवाफ दिनुपर्नेछ । त्यसैले मन्त्रीहरुले जवाफ दिनका लागि फेरि माघ १८ गते बिहान ८ बजे बस्नेगरी आजको बैठक स्थगित भएको छ ।'
बैठकमा विशेषगरी मन्त्रीहरुको कार्यदक्षतामाथि सांसदहरुले प्रश्न उठाएका थिए । ‘सदस्यहरुले मन्त्रीहरुको कामको प्रभावकारिताको विषयमा केही कुराहरु राख्नु भएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ । मन्त्रीमात्र मुस्कुराउने तर सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस् भन्ने धेरै माननीयहरुको भनाइ छ', सरकारले काम गर्न नसकेकोप्रति कटाक्ष गर्दै उनले भने ।
काँग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएको अवस्था छ ।
टिप्पणीहरू