यता छुटेपनि आशिकालाई उता थुनिँदै

यता छुटेपनि आशिकालाई उता थुनिँदै

आफूलाई सामाजिक अभियन्ता दावी गर्ने आशिका तामाङ प्रहरी हिरासतबाट रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी हिरासतबाट बाहिरिएकी हुन् ।

अभद्र व्यवहारको कसुरमा माघ २ गते पक्राउ परेकी तामाङमाथि गौशाला प्रहरी वृत्तले अनुसन्धान सकाएर हिजो जिल्ला प्रशासनमा प्रतिवेदन पेश गरेको थियो । आज प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा रिहा गर्न आदेश दिएको काठमाडौँ प्रहरी परिसरकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् । 

तामाङलाई रिहालगत्तै पुनः पक्राउ परेर भक्तपुर प्रहरी परिसर पठाइँदैछ । डिएसपी चन्दका अनुसार त्यहाँ पनि तामाङविरुद्ध अभद्र व्यवहार र अपराधिक लाभको कसुरमा उजुरी दर्ता भएको छ । ‘यहाँ (काठमाडौँ)बाट अनुसन्धान सकेर रिहा गर्ने आदेश आइसक्यो’, उनले जनआस्थासँग भनिन्, ‘तर पुनः पक्राउ गरेर भक्तपुर पठाउँदैछौं, त्यहाँ पनि उजुरी रहेछ ।’

कुनै बेला म्युजिक भिडियो र चलचित्रमा राम्रो करिअर बनाउन खोजेकी तामाङ अहिले आफ्नै कारण अनेकौँ लफडामा परेकी छन् । पछिल्लो समय उनी अभिनित चलचित्र ‘सुश्री’ प्रदर्शनमा आएको थियो । तर चलचित्र ‘फ्लप’ भएपछि उनी विदेश गइन् । एक वर्षयता सामाजिक सञ्जालमा बेथितिविरुद्धको भिडियो बनाएर पोष्ट गर्दै आएकी उनी केही महिनायता भने अराजक बन्दै गएको टिप्पणी हुन थालेको थियो ।

टिप्पणीहरू