रास्वपाले अध्यादेशको अन्तरवस्तुमा जमेर बहस गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेशको अन्तरबस्तुमा खरो बहस गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले अध्यादेश ल्याउने प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै अन्तरवस्तुगत सारमाथि गुण र दोषका आधारमा बहस चलाउने निर्णय गरेको हो । रास्वपाले दुई तिहाइ बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा भएको निष्कर्षसमेत निकालेको छ ।
‘संसदमा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ,’ बैठकको निर्णय छ, ‘विगत ६ महिनामा गठबन्धन हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँच वटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै ती अध्यादेशका अन्तरवस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण, दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।’
बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली संशोधन प्रस्ताव, संगठन विभाग नियमावली र निर्वाचन आयोगको नियमावली पारित पनि गरेको छ । त्यस्तै, केन्द्रीय सचिवालय सदस्य तथा पदाधिकारीहरुको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा 'सर्वाङ्गीण संवाद' गर्ने अर्को निर्णय छ ।
प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिलाई रास्वपामा आबद्ध गर्न गराउन सुझावसहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने, र प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि कार्यविधिबमोजिम गर्न विभागलाई सहजीकरणका निम्ति बैठकले निर्देशन दिएको छ ।
केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गरिएको छ ।
टिप्पणीहरू