पूर्व रास्ट्रपतिको यति भनाइ नै काफी छ
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा दुई महिनायता व्यापक बन्यो । तर एमालेले भण्डारी र माओवादी केन्द्रले पुनको पुनरागमनबारे ठोस निर्णय लिएको अवस्था छैन ।
पुनलाई पार्टी उपाध्यक्ष बनाएर सक्रिय भूमिकामा फर्काउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहना रहे पनि अन्य नेताहरुको फरक मतका कारण अलपत्र परेको देखिन्छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेतृत्वसँगै अग्रपंक्तिको लहरमा बसेका उनी राजनीतिमा फर्किने मनशायमा रहेको प्रष्टै छ ।
उता एमालेको एउटा समूह पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी अध्यक्ष बनाउने उद्धेश्यसहित भित्राभित्रै सक्रिय रहेको बुझिन्छ । यद्यपि,प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन प्रयासरत नेताहरुलाई ‘म हुँदाहुँदै दायाँबायाँ नसोच्नू,राजनीतिमा फर्किन मन भए मसँगै सल्लाह गरे हुन्छ’ भन्दै सचेत गराएको अवस्था छ ।
पार्टीको आगामी महाधिवेशनबाट अर्को एक कार्यकाल अध्यक्ष बन्ने तयारीमा रहेका ओली भण्डारीलाई तत्काल पार्टीमा फर्काउने मुडमा नरहेको कतिपय नेताको बुझाई छ । यो स्थितिमा पूर्व राष्ट्रपति भण्डारीको चाहना के होला ? यो चासोको प्रश्न हो । उनले मुख खोलेर पार्टी नेतृत्वमा दावी नगरे पनि विभिन्न सभा समारोहबाट भने घुमाउरो भाषामा राजनीतिमा फर्किने सन्देश दिइरहेको अवस्था छ ।
‘उहाँ (भण्डारी)ले औपचारिक रुपमा कुरा नगरे पनि पार्टी पंक्तिले आफ्नो आशय बुझोस् भन्ने चाहनुहुन्छ, त्यो स्वभाविक हो ।’
केही समयअघि पोखरा पुगेर ‘जनताले आवश्यकता महसुस गरे जिम्मेवारीसहित एमालेमा फर्किने’ बताएकी भण्डारीले आज पनि त्यही आशयको अभिव्यक्ति दिएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय राजनीतिबारे नियमित अपडेट राखिरहेको र उपयुक्त समय आएपछि दलीय राजनीतिमा फर्किने बताइन् ।
‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षसँग छलफल गरिरहेको छु’, भण्डारीको भनाई छ, ‘ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्यो भने उपयुक्त समय आएपछि निर्णय लिनेछु ।’
पूर्व उपराष्ट्रपति पुनको लागि भने उनले शुभेच्छा व्यक्त गरिन् । पुन सक्रिय राजनीतिमा फर्किएमा आफू खुशी हुने भण्डारीको भनाई छ । ‘उहाँ युवा हुनुहुन्छ,अनुभव छ । राजनीति गरेर आउनुभएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुशी नै लागेको छ, मेरो शुभेच्छा छ’,उनले थपिन् ।
विराटनगरबाटै आफ्नो राजनीतिक जीवन प्रारम्भ भएको बताउँदै अगाडि भनिन्, ‘पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर आएको हुँ । यही क्रममा तपाईंहरूसँग पनि भेट्न मन लाग्यो ।’
भण्डारीले आफैं पत्रकार भेटघाट आयोजना गर्नु,राष्ट्रिय राजनीतिबारे नियमित अपडेट राखेकाे भन्नु र आफ्नो विचारलाई अभिव्यक्त गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ (भण्डारी)ले औपचारिक रुपमा कुरा नगरे पनि पार्टी पंक्तिले आफ्नो आशय बुझोस् भन्ने चाहनुहुन्छ, त्यो स्वभाविक हो ।’
टिप्पणीहरू