‘सिडिओ र डिएसपीले माफी माग्नुपर्छ’

‘सिडिओ र डिएसपीले माफी माग्नुपर्छ’
सुन्नुहोस्

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विवादमा अस्ति भएको झडपपछि यातायात बन्दको घोषणा गरिएको छ । केबलकार निर्माणको विरोध गर्दै आएका सम्पदा संरक्षकहरुले भोलिदेखि अनिश्चितकालका लागि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरेका हुन् । 

उनीहरुले राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजीलगायत विषयमा कोणसभा, धर्ना कार्यक्रम पनि आह्वान गरेका छन् । साथै, मानव अधिकार हनन् गरेर पाथीभरामा केबलकार बनाउन लागेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई ताप्लेजुङ प्रवेशमा रोक लगाइएको घोषणा गरेका छन् । 

उनीहरुले ग्लोबल आईएमई बैंकमा रहेको खाता बन्द गर्न आग्रह गर्दै आज दिउँसो १ बजे ग्लोबल बैंकका सबै शाखामा शान्तिपूर्ण धर्नाका निम्ति आह्वान गरिएको छ । ‘ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा ग्लोबल आईएमई बैंक बन्द गर्नुपर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।’

ताप्लेजुङका सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने तथा निजहरुलाई कडा कारबाही गर्नुपर्ने समेत माग गरिएको छ । त्यस्तै, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई ताप्लेजुङ बाहिर निषेध गर्ने र पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । 

पाथीभरामा निर्माणाधीन केबलकारको मुक्लुमलुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिलगायतले विरोध गर्दै आएका छन् । सोही विषयलाई लिएर विरोधी समूह र सुरक्षाकर्मीहरुबीच शनिबार अपरान्ह भिडन्त हुँदा डेढ दर्जन घाइते भएका थिए । शान्तिपूर्ण प्रदर्शनमा भेला भएको समूहलाई प्रहरीले कुटपिटसँगै निर्मम गोली चलाएको स्थानीयको आरोप छ ।


टिप्पणीहरू