ब्रेकअपपछि साडीमै डुबुल्की
पछिल्लो समय कलाकारहरु विवादमा तानिएपछि धर्म–कर्म र अध्यात्मतिर लाग्न थालेका छन् । पछिल्लो उदाहरणको रुपमा पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी देखिएकी हुन् ।
प्रेमी सुशान्त प्रधानसँग हालै ब्रेकअप गरेकी मलिनाले भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा पुगेर गंगास्नान गरेकी छन् । आफ्नो ३६औँ जन्मदिन मनाउन त्यहाँ पुगेकी उनले महाकुम्भ मेलाको अवसरमा गंगा, जमुना र सरस्वती नदीको संगमस्थलसम्म पुगेको जनाएकी छन् । साडी पहिरेर स्नान गरेको तस्बिर सेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जीवन योजनाअनुसार चलिरहेको छैन, तर जे भइरहेको छ, राम्रो भइरहेको छ ।’
आफूलाई भीड मन नपरे पनि महाकुम्भको हिस्सा बन्न पाउँदा खुशी लागेको मलिनाको भनाई छ । ‘मलाई भीडभाड पटक्कै मन पर्दैन । तर मैले आफ्नो लागि सबै सीमाहरु खुला गरेर मनको डरलाई जितेको छु’, उनले थपेकी छन् । धार्मिक भावसहित उनले मेलामा सहभागी भएर आनन्द महशुस गरिरहेको उल्लेख गरिन् ।
प्रेमी प्रधानसँगको झण्डै चार वर्षे सम्बन्धलाई उनले केही महिनाअघि टुंगाएको बताइन्छ । उनीहरु लिभिंग टुगेदरमा रहेको चर्चा थियो । पछिल्लो समय जोशीको चलचित्र पनि खासै देखिएको छैन ।
एक महिनाअघि विभिन्न हिमाली जिल्लाको भ्रमण गरेकी उनले पछिल्लो समय मन्दिर गएको तस्बिर सेयर गरेकी थिइन् । ब्रेकअपपछि मलिना धार्मिक गतिविधिमा बढी संलग्न हुन थालेको निकटस्थहरुको बुझाई छ ।
उता गायिका एलिना चौहानको डिभोर्सको चर्चा अझै सेलाएको छैन । गत बैशाखमा प्रेमी विष्णु सापकोटासँग बिहे गरेर अष्ट्रेलिया उडेकी चौहान तीन महिनामै स्वदेश फर्किएर ओशो तपोवन पुगेपछि दर्शकले वैवाहिक सम्बन्धमा दरार आएको भन्दै टिप्पणी गरेका थिए । पछिल्लो समय ज्योति मगरको स्टाटस र गायक बद्री पंगेनीको एउटा भिडियोले चौहानमाथिको उक्त टिप्पणीलाई बल पुगेको हो ।
टिप्पणीहरू