एक वर्ष नपुग्दै श्रमिक कम्युनिष्ट पार्टी विघटित
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीलगायत विभिन्न पार्टीबाट विद्रोह गरेर आएकाहरुले गत वैशाखमा गठन गरेको श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको छ । क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा रहेको उक्त पार्टीले सच्चा कम्युनिष्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको छ ।
राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमख लोकेश विश्वकर्मालगायत २५ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनीहरुले जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपल्बधि वास्तविक कम्युनिष्ट बाहेक अरुले गर्न नसक्ने बताएका छन् । आरोप नयाँ लगाउँदै नयाँ पार्टी गठन गर्ने र पुरानै धन्दा चलाउने प्रवृत्ति हाबी भएकाले पार्टीलाई विधिवत रुपमा विसर्जन गरिएको उनीहरुको भनाइ छ ।
विश्वकर्मासहित राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु रणबहादुर विक, भिमसेन भट्ट, रोहित खत्री, बिएस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुषाल, जितु तामाङले विघटनमा हस्ताक्षर गरेका छन् । त्यसैगरी सल्लाहकार समिति संयोजक शैलेश श्रेष्ठ, शिक्षा विभाग सदस्य श्रीराम बञ्जारा, युवा संगठन प्रमुख डायमण्ड सिम्खडा, नेवा काठमाडौं संयोजक उदयवीर शाक्य, लेखा परीक्षण विभाग प्रमुख लक्ष्मण भुषाललगायत विघटनको पक्षमा देखिएका हुन् ।
सतहमा एउटा र व्यवहारमा अर्कै देखिएका कम्युनिष्टहरु श्रम गर्न नचाहने पार्टीको सहयोग रसिद बोकेर जीवन चलाउनुलाई वैचारिक रुपमा आएको विचलन ठानिएको छ । विज्ञप्तिमा लेखिएको छ, कम्युनिष्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिनुपर्ने तर हुनु नपर्ने जस्ता प्रवृत्तिको अन्त्य गर्न नसके जनविश्वास प्राप्त हुँदैन ।’
पार्टी नेतृत्वले बैठक राख्न नसकेको, विचार र व्यवहारमा अन्तरलगायत कारणले पार्टी विघटनमा पुगेको उनीहरुको निश्कर्ष छ । लेखिएको छ, ‘माओले पार्टी विघटनको प्रमुख कारण गलत विचारधारा र कार्यदिशालाई ठाने जस्तै लामो समयसम्म कार्यदिशा विहीनताको अवस्थामा रहनु पनि विभत्स विघटन हुनु सरह नै हो ।’ तर आगामी दिनमा कम्युनिष्ट एकता र मोर्चाबन्दीमा जान आफूहरु तयार रहेको उनीहरुको दाबी छ ।
टिप्पणीहरू