भूकम्पको केन्द्रबिन्दुमा सामान्य क्षति, हात भाँचिएका कैदीको चौतारामा उपचार

भूकम्पको केन्द्रबिन्दुमा सामान्य क्षति, हात भाँचिएका कैदीको चौतारामा उपचार

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले गएरातिको भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । 

राति २ बजेर ५१ मीनेटमा भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड क्षेत्रलाई केन्द्रबिन्दु बनाएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबाट जिल्लामा मानवीय क्षति नभएको प्रशासनले जनाएको छ । 

त्यसैगरी, भौतिक संरचनामा पनि सामान्य क्षति भएको जानकारी दिइएको छ । प्रशासनका अनुसार भूकम्पको कारणले वडा नम्बर ३, तुसारेमा सुख्खा पहिरो गएको छ । उक्त स्थानमा मानवीय बस्ती नभएकाले कुनै क्षति नभएको प्रशासनको भनाइ छ । 

भागदौडका क्रममा घाइते भएका सिन्धुपाल्चोक कारागारका एक कैदीबन्दीको हातको पातो सरेको छ । उनको चौतारा अस्पतालमा उपचार गरिएको प्रशासनद्धारा केही बेरअघि जारी विज्ञप्तिमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय, कोदारीको भवन सामान्य चर्किएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जिल्लामा गस्ती गरिरहेको प्रशासनले जानकारी दिएको छ । त्यस्तै, प्रशासनले भूकम्पका कारण विभिन्न स्थानमा सुख्खा पहिरो जाने जोखिम रहेकाले सचेत रहन सूचित गराएको छ ।
 

टिप्पणीहरू