होलीमा डेढ सय गाडी सडकमै होल्ड

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । राजधानीका नयाँ बानेश्वर, वसन्तपुरलगायत स्थानमा होली खेल्नेको निकै भीडभाड छ ।
होलीमा मादक पदार्थ वा लागू औषध सेवन गरेर सवारीसाधन चलाउने कार्य पछिल्ला केही वर्षयता बढेपछि ट्राफिक जाँचमा कडाई गरिएको छ । उपत्यकामा युवायुवतीले होली मनाउने क्रममा मादक पदार्थ सेवन गर्ने र गाडी हाँक्ने गरेको पाइएपछि प्रहरीले बिहानैदेखि विभिन्न ठाउँमा चेकजाँच गरिरहेको छ ।
बिहान ११ बजेसम्म डेढ सय सवारीसाधन होल्डमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये एक सय २९ वटा मोटरसाइकल र २१ वटा चार पाङ्ग्रे सवारीसाधन हुन् ।
हेल्मेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्नेलगायत कार्य गरेकालाई होल्डमा राखिएको कार्यालयको भनाइ छ । त्यस्तै, ओभरलोड, सडक बत्ती उल्लंघन र लेन क्रस गरेको कसुरमा पाँच सय ६३ सवारीसाधनसमेत कारबाहीमा परेका छन् ।
ट्राफिक कार्यालयले आज काठमाडौंका विभिन्न ८३ ठाउँमा ‘चेक प्वाइन्ट’ राखेको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले ६ सय ९४ जना ट्राफिक प्रहरी खटाइएको छ ।
टिप्पणीहरू