कम्युनिष्टले समाजवादी नाम राखेको भन्दै बाबुरामको कटाक्ष

संसद्को प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चामाथि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले रिस पोख्नुभएको छ ।
कम्युनिष्ट घटकहरु मिलेर बनेको मोर्चालाई समाजवादी नाम दिइएको भन्दै उहाँ आक्रोशित हुनुभएको हो । सामाजिक सञ्जालमा स्टाटस लेखेर उहाँले भन्नुभएको छ, 'केही पुराना 'कम्युनिष्ट' घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफुलाई 'समाजवादी मोर्चा' भन्ने गरेका छन् । 'कम्युनिष्ट' हरूको मात्र मोर्चा भएपछि त्यसलाई 'कम्युनिष्ट मोर्चा' भने भैहाल्थ्यो ।'
कम्युनिष्ट भन्न लाज लागेको भए र समाजवादी भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै 'समाजवादी' राख्न पनि डाक्टरको सल्लाह छ । उहाँले कम्युनिष्ट भनेर कार्यकर्तालाई ठग्ने काम भइरहेको आरोप पनि लगाउनुभयो ।
'कि 'कम्युनिष्ट' भनेर कार्यकर्तालाई ठग्ने, अनि 'समाजवादी' भनेर जनतालाई ठग्ने दोहोरो चाल हो ? यसरी दुइवटा डुंगामा खुट्टा राखेर कता पुगिएला ?', भट्टराईको आक्रोसपूर्ण सोधाई छ ।
यसलाई भयंकर वैचारिक र नैतिक विचलन भन्दै उहाँ थप अगाडि लेख्नुहुन्छ, 'यसको सट्टा विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि ?'
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र बाबुरामबाट छुट्टिएर गठन भएको नेपाल समाजवादी पार्टी छन् ।
टिप्पणीहरू