ठाउँ ठाउँको माटो थुपार्दै विप्लव

नेपालको सीमा क्षेत्रमा भारतको अतिक्रमण रोक्न नेपाल कम्युनिष्ट पार्टीले माटो संकलन अभियान थालेको छ । सीमा क्षेत्रमा भूभागको विषयलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद चलिरहँदा सांकेतिक सन्देश प्रवाहको लागि नेकपाले माटो संकलन थालेको जनाएको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले आज झापास्थित महेशपुर (मेचीपारी)को माटो संकलन गरेका छन् । पार्टी जिल्ला इञ्चार्ज सुमन सीले त्यहाँको माटो बोरामा भरेर विप्लवलाई हस्तान्तरण गरेका हुन् । ‘इतिहासकै दुःखान्त भूगोलको माटो हो यो’, उनले भने, ‘राष्ट्रिय स्वाधिनताको लागि सर्वप्रथम देशको माटो जोगाउनुपर्छ ।’
त्यस्तै, भूभागको लागि लामो समयदेखि विवाद हुँदै आएका सीमा क्षेत्रहरु कञ्चनपुरको चाँदनी दोधारा, नवलपरासीको सुस्तालगायतबाट पनि माटो संकलन गरिने नेकपाले जनाएको छ । विभिन्न क्षेत्रबाट संकलन गरिएको माटोलाई एकैठाउँमा खन्याएर प्रतिविम्बको रुपमा एउटा वृक्ष रोपिने महासचिव विप्लवले जानकारी दिए । उनका अनुसार नेपाली भूगाग अतिक्रमणविरुद्ध सरकारलाई पहल कदम चाल्नको लागि दबाब सिर्जना गर्न माटो संकलन अभियान थालिएको हो ।
टिप्पणीहरू