महासंघको स्थापना दिवसमा ‘कालो ब्यानर’मा पत्रकारहरु

महासंघको स्थापना दिवसमा ‘कालो ब्यानर’मा पत्रकारहरु

औंसीको रात कालो हुन्छ । आज दिनमै पनि पत्रकारहरुले कालो ब्यानर बोकेर हिँड्नुपर्यो  । नेपाल पत्रकार महासंघको स्थापना दिवसको पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेर पत्रकारहरु विरोधमा उत्रिनुपरेको हो । 

हिजो काठमाडौंमा राजावादी आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा एकजना पत्रकार जिँउदै जलेर मारिए ।  उक्त पत्रकार ‘हत्या’ र सञ्चारगृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध एक आन्दोलनको रुपमा महासंघले आज देशव्यापी रुपमा शोकसभा तथा विरोध कार्यक्रम आयोजना गरेको हो । 

चितवनमा पत्रकार महासंघ जिल्ला शाखा कार्यालयअगाडि बिहान ८ बजे जम्मा भएका पत्रकारहरुले कालो ब्यानरसहित ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकारमाथिको दमन अन्त्य गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’ लेखिएका प्लेकार्डहरु बोकेर चौबीसकोठीसम्म र्याली निकालेका  थिए । कार्यक्रममा जिल्लाका केही मानवअधिकारकर्मीहरु पनि सहभागी भए । 

चौबीसकोठी चोकमा पत्रकार हत्याको शोकमा एकमिनेट मौनधारण पश्चात् शुरू भएको विरोधसभामा बोल्दै समाजवादी प्रेस संगठनका अध्यक्ष टीकादत्त तिमिल्सिनाले खबरदारी व्यक्त गरे । 

‘अपराधीहरुलाई कानुनी दायरामा ल्याएर कडा कारबाही नहुञ्जेलसम्म पत्रकारहरु सडकमै आउनुपर्छ, सरकारलाई खबरदारी गरिनै रहनुपर्छ’ प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमालले भने, ‘लोकतन्त्रमा स्वतन्त्रता हुन्छ तर स्वतन्त्रताको नाममा अपराधजन्य कर्म गर्न पाइँदैन । आन्दोलनको नाममा पत्रकारको जुन हत्या भएको छ, सञ्चारगृहमा आक्रमण भएको छ, यो जघन्य अपराध हो, यसको हामी घोर भत्र्सना र निन्दा गर्दछौं ।’

रजकमात्र मारिएनन्, आन्दोलनकारीहरुले प्रहरीको बन्दुक खासेको भिडियो खिच्दै गर्दा अर्का पत्रकारको खुट्टा भाँचिएको, मिडियाहाउसमा पनि तोडफोड र आगजनीको प्रयास भएको उल्लेख गर्दै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले यी पत्रकारले न्याय नपाएसम्म चरणबद्ध रुपमा आन्दोलनलाई अगाडि लानुपर्ने धारणा राखे । 

लोकतन्त्रको नाममा छाडातन्त्रकोे रुपमा अराजक गतिविधि सञ्चालन गर्नेहरुलाई तत्काल नियन्त्रण गर्न मानवअधिकार सञ्जाल चितवनको तर्फबाट अध्यक्ष दिपक लामिछानेले सरकारसँग जोडदार माग गरे । 

‘पत्रकारको हत्या र मिडिया हाउसमाथिको आक्रमण आन्दोलनको नाममा भएको अक्षम्य अपराध हो’, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाले भने । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारीले पनि हिजोको कार्यक्रममा राजावादी भनौंदाहरुबाट जुन अपराधिक कुकृत्यको भयो, त्यसलाई अक्षम्य अपराधको रुपमा लिइएको बताए । उनले भने, ‘हिजो जुन ढंगको आन्दोलन भयो, त्यो आन्दोलन होइन, हिंसा हो भनेर पत्रकार महासंघले भनिपनि सकेको छ ।’

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त ढुंगानाले जुन जुन नाममा भएपनि पत्रकारहरुमाथि जुन आक्रमण भएको छ यो अत्यन्त निन्दनीय एवम् घोर भत्र्सनीय भएको बताए । ‘ज–जसले पत्रकारहरुमाथि आक्रमण गर्नुभाछ उहाँहरुले स्पष्ट रुपमा कान खोलेर सुन्दा हुन्छ पत्रकारलाई मारेर, कुटेर तपाईंहरुको कुनै पनि उद्देश्य पूरा हुन सक्दैन’, उनले थपे, ‘यो तपाईंहरुकै निम्ति घातक हुने छ ।’ 

अहिलेको व्यवस्था ल्याउन पत्रकार महासंघको ठूलो बलिदानी रहेको अवगत गराउँदै यसलाई जोगाउन पनि पत्रकार महासंघले आवश्यक कदम चाल्ने उल्लेख उनले गरे । ‘आज रक्तदान र पत्रकारहरुको स्वास्थ्य परीक्षणको कार्यक्रम थियो । त्यो कार्यक्रमहरु स्थगित गरेर हामी सडकमा आएका छौं । सरकारले पत्रकारहरुको सुरक्षामा विशेष ध्यान देओस्’, अध्यक्ष बसन्तले भने । 

केन्द्रको निर्देशनअनुसार आगामी दिनहरुमा पनि संघर्ष जारी राख्ने उनले बताए । नेपाल पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए । 

टिप्पणीहरू