कसले चोर्यो गणेशमानको लौरो ?

०४६ को परिवर्तनपछि हातमा आएको प्रधानमन्त्री पद भो, मलाई चाहिएन भनेर साथीलाई जिम्मा लगाउने नेता गणेशमान सिंहको शालिकबाट उनले टेक्ने लौरो चोरी भएको छ । तर, शालिकको रुप बिगार्ने गरी हराएको लौरो खोज्न न शहरी विकास हेर्ने उपप्रधानमन्त्री छोरा प्रकाशमानलाई चासो छ न उनीसम्बद्ध पार्टी नेपाली कांग्रेसले नै वास्ता गरेको देखिन्छ ।
नेपाली राजनीतिमा उनको बलिदानको सम्मानार्थ २०७६ पुस ३ गते ललितपुरको जावलाखेलमा पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको थियो । उनैका पुत्र प्रकाशमान सिंहले शालिक अनावरण गरेका हुन् । वर्तमान सरकारको तालाचाबी हातमा भएको कांग्रेस आफ्ना अग्रजको शालिकबाट लौरो हराउँदा मौन छ । यता, गणेशमानकै पुत्रलाई समेत लौरो बेपत्ता हुँदा कुनै फरक परेको छैन । आफ्नै हातबाट अनावरण गरेको शालिकको लौरो खोजीका निम्ति उनले सम्बन्धित निकायको अहिलेसम्म पनि ध्यानाकर्षण नगराएको बुझिएको छ ।
त्योभन्दा पनि गम्भीर विषय त कसैले किन त्यो लौरो चोरी गर्यो भन्ने हो । सो लौरो पशुपतिनाथ मन्दिरको गजुरझैं सुनको पनि थिएन । बस्, गोल्डेन कलर मात्रै लगाइएको थियो । अहिले लौरो देखाएर मुलुकमा आतंक फैलाउनेहरू उत्तिकै छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको चुनाव चिह्न लौरो नै थियो । त्यही लौरोले पुराना नेतालाई सेकाउने एजेण्डा बोकेर हिँडेका उनले चुनाव जितिहाले । उता, धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ पनि लौरो चुनाव चिह्न बोकेरै लडेका थिए । दुवैको स्वभाव र पारा उस्तै छ, सामाजिक सञ्जालमा सरकारलाई गाली गर्ने, आतंक फैलाउने र चर्चा बटुल्ने ।
यता, जिल्ला प्रहरी परिसर, ललितपुरले भने लौरो चोरीको विषयमा कुनै जानकारी नभएको बताएको छ । जनआस्थासँग एक अधिकृतले भने, ‘हामीलाई उक्त लौरो चोरी भएको वा हराएको थाहा छैन । तैपनि के रहेछ बुझौंला ।’ एउटा प्रतिष्ठित नेताको शालिकबाट लौरो हराउँदा प्रहरी प्रशासन के हेरेर बस्छ ? नेपाली राजनीतिका अविस्मरणीय नेता र पार्टीका मार्गदर्शक गणेशमानको लौरोसमेत जोगाउन नसक्ने कांग्रेसले देश कसरी जोगाउला ? प्रश्न गम्भीर छ ?
टिप्पणीहरू