महाकालीपारि अचम्मका महाराज

महाकालीपारि अचम्मका महाराज

टिहरी गढवाल भारतीय उत्तराखण्ड राज्यको पहाडी जिल्ला हो । गढवाल राज्यमा स–साना राजा थिए । महाराजा सर रनवीर सिंह राजेन्द्रबहादुर पनि तिनैमध्येका हुन् । विशेषतः उनलाई जिन्दको महाराज भनेर चिनिन्छ । जिन्द शहर पहिला पञ्जाबमा थियो तर यतिखेर हरियाणामा पर्छ । रानी ताल यहाँको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँ भूतेश्वर महादेव मन्दिर पनि छ ।

रनवीर चार वर्षको हुँदा बाबु बलवीर सिंहको मृत्यु भयो । सन् १८८७ मा बाजे रघुवीरको पनि निधन भयो । आठ वर्षको बालक रनवीर राजा बने । उनी प्रगतिशील थिए, ब्रिटिश शासनविरोधी । स्कुल, अस्पताल धेरै खोले । विधवा र अनाथहरुको कल्याणार्थ थुप्रै काम गरे । स्थानीय जनता उनलाई भोला राजा भन्थे । नपुंशक भनेर गिज्याउँथे । आफू नपुंशक होइन भनेर देखाउन पाँचवटीलाई रानी बनाए । छोरा राजवीर जन्माए । उनका रानीमध्ये जसवन्त कौर (ओलिभ मोनालस्कु) पनि थिइन्, रोमानियाकी हजामकी छोरी । उनका पाँच छोरा र सात छोरी भए ।

महाराजा रनवीर राति ढिलो सुत्थे । अनि भोलिपल्ट साँझको ४ बजे उठ्थे । निद्रा खुल्ने समय महारानीहरु खुट्टा मिचिरहेका र सानो मसिनो स्वरमा गीत गाइरहेका हुन्थे । ब्युँझनेबित्तिकै उनलाई तात्तातो चिया चाहिन्थ्यो । राति सुत्नुअगाडि भन्थे कि निद्राबाट ब्युँझने समय मेरोसामु फलाना फलाना रानी उपस्थित हुनु । उनी आफूलाई मन पर्ने रानीको अनुहार देखेपछि बाँकी दिन शुभ हुन्छ भन्ने विश्वास गर्थे । साथै अघिल्लो दिन राजज्योतिष पण्डित करनचन्दसँग घण्टौं विमर्श गर्थे– भोलि कुन–कुन नाउँ भएका व्यक्तिसँग पहिलो भेटघाट गर्ने † राज्यका प्राइम मिनिष्टर सर बिहारीलाल, गृहमन्त्री पण्डित रामरतनलगायत अन्य मन्त्रीगण र अंगरक्षक एडी कांग महाराजा निद्राबाट ब्युँझने प्रतिक्षामा शयनकक्षबाहिर घण्टौंसम्म बस्थे । उनीहरुलाई बस्ने आज्ञा हुँदैनथ्यो, उभिएरै रहन्थे । राजाको दरबारको नाउँ थियो– ‘ऋषि कुटी ।’

महाराजा रनवीरको नास्ता खाने समय टेबुलमा एउटा स्याम्पेनको बोतल तयार पारिएको हुन्थ्यो । चारैतिर दरबारियाहरु उभिएर प्रतिक्षा गरिरहन्थे र जब महाराजाको सवारी हुन्थ्यो, सबैले एकैपटक अभिवादन गर्थे । महाराजाको मन प्रसन्न छ भने अभिवादनको जवाफ फर्काउँदैनथे नत्र नदेखेजस्तो गर्थे । अभिवादन फर्काएनन् भने सबैले बुझ्थे, ‘आज महाराजा खुशी छैनन् ।’ यसको अर्थ आज कुनै पनि काम हुँदैन भनेर बुझ्थे र त्यो दिन कुनै कागजात, फाइल पेश गर्दैनथे । डायनिङ कुर्सीमा बसिसकेपछि स्याम्पेन र चिया सँगसँगै पिउँथे । त्यसपछि नरिवलको तेलले शरीर मालिस गराउँथे । त्यसपछि फ्रान्सबाट झिकाइएको विभिन्नखाले अत्तर मिसाइएको पोखरीमा डुबुल्की मार्थे । नुहाईधुवाई पछि लुगा लगाएर बैठक कोठामा प्रवेश गर्थे । बैठक कोठामा पहिल्यै उनका मन पर्ने रानी डोरोथी, उनका छोराछोरी र केही दरबारिया उपस्थित हुन्थे । उनीहरुको बीचमा बसेर दुई–चार गिलास ब्राण्डी पिउँथे ।

त्यसो त महाराजा रनवीर बहिरा थिए तर बोलिरहेका मान्छेले ओंठ चलाएकै भरमा कुरा बुझ्ने खालका थिए । दरबारमा दिनहुँ उपस्थित हुने र भेट्न आउनेसँग महाराज यसरी नै वार्तालाप गर्थे । रातको साढे एघार बजे खानाको समय हुन्थ्यो । खाना घण्टौं चल्थ्यो । खाइसकेपछि राज्यका केही अधिकृत र पाहुनाहरुसित बसेर तास खेल्थे । ब्रिज र बिलियार्ड पनि खेल्थे । हरेक दिन हजारौं रुपैयाँ हार्थे । यो खेलको समय बिहान ४ बजेसम्म चल्थ्यो । प्रायः घाम उदाएपछि खेल्न बन्द गर्थे । त्यस बेलासम्ममा महाराजाले पुगनपुग २५ गिलास ब्राण्डी (रक्सी) पिइसकेका हुन्थे । उनी त्यसैले खेलकै दौरान घरिघरी शौचालय पनि जान्थे । महाराजा दिनमा एक छाक खान्थे– डिनरमात्रै ।

राज्यमा ब्रिटिश शासकका प्रतिनिधि भाइसराय वा विशेष पाहुनाहरु आएका बेलामा भने उनको दिनचर्या पूरै परिवर्तन हुन्थ्यो । यसमा उनी साह्रै दुःखी बन्थे । पाहुनाहरुसँग शिकार खेल्न गएर प्रसन्न बन्न खोज्थे । चितुवाको शिकार गर्न अत्यन्तै रुचाउँथे । साथै पालेका चितुवालाई लडाएर तमाशा पनि हेर्थे । यहाँसम्म कि आफूले पालेका चितुवालाई जंगलमा लगेर जंगली चितुवासँग लड्न लगाउँथे । मृगको बथानमा चितुवालाई छोडिदिन्थे । चितुवालाई राम्रो तालिम दिइएको हुन्थ्यो, त्यसैले शिकारपछि ती चितुवा आफैं पिँजडामा पस्थे । ३ सय ६५ दिनमा १ सय ३० दिन महाराजा यसरी नै शिकारमा समय व्यतित गर्थे । बाँकी दिन अन्य खेल, तमाशा हेर्थे । महाराजलाई कुकुर पाल्ने पनि ठूलो शोख थियो । संसारका राम्रा–नराम्रा नश्लका कुकुर झिकाएर पाल्थे ।
कहिलेकाहीं दिनचर्याको प्रतिकूल बिहान आठै बजे उठ्थे र नास्ता गरिसकेपछि जंगलतिर लाग्थे । हाँस, हरिण, मयूर आदिको शिकार गर्थे । उनी जाने जंगलमा धेरै प्रकारका चराचुरुंगी हुन्थे । मध्याह्न भएपछि दरबार फर्कन्थे । नुहाईधुवाई गर्थे । खाना खान्थे र एक घण्टा आराम गर्थे । त्यसपछि फेरि राज्यका हाकिम तथा पाहुनाहरुसँग शिकारमा जान्थे । त्यस्तो बेलामा शिकारबाट फर्कंदा राति ८ बजिसकेको हुन्थ्यो । अनि राति १२–१ बजेसम्म रक्सी खाएर बस्थे । भाइसराय तथा विशेष पाहुनाहरुसित भेटघाटको समय प्रायः दिउँसोको खाना खाने समयमा मात्र मिलाइएको हुन्थ्यो । चिकित्सकले बेलुकीको खाना नखान सल्लाह दिएको बहाना बनाउँथे । किनभने राति उनको २५ पेग ब्राण्डी पिउने समय थियो, त्यो बेला पाहुनाहरुसँग भेटघाट गरेर ‘शान्ति’ नष्ट गर्न चाहन्नथे ।
महाराजाको अधिकांश समय सुत्न, रक्सी पिउन र शिकार खेल्नमै बित्थ्यो । राज्यको प्रशासन चलाउन समय नै हुन्नथ्यो । यसको बाबजुद भाइसरायको सिफारिसमा बेलायतका सम्राटबाट समय–समयमा ठुल्ठूला तक्मा, पद्वी उपाधि पाउँदै गए । ‘इण्डियन एम्पायरके नाइट कमाण्डर’ जस्तो उच्च उपाधि पाए । उनको विशेषता यो थियो कि राज्यको प्रशासनमा बिल्कुल हस्तक्षेप गर्दैनथे । जीवन मस्तले बिताउँथे । राज्य चलाउने सम्पूर्ण जिम्मेवारी चिफ मिनिष्टरको हुन्थ्यो, जो अंग्रेज भाइसरायको चाकर नै हुन्थे ।

उनले सन् १९४७ मा गद्दीसीन भएको ६० औं वर्षगाँठ धुमधामसित मनाए । हिरक जयन्ती मनाएको पाँच महिनापछि सन् १९४८ को मार्च ३१ मा निधन भयो । त्यसबेला ६९ वर्षका थिए । फुलकियान वंशका कुनै पनि राजा–महाराजाले उनले जस्तै ६१ वर्ष शासन गरेका थिएनन् । उनीपछि छोरा राजवीर सिंह राजा भए । उनको सन् १९५६ मा मृत्यु भयो ।

टिप्पणीहरू