सरकार, कसले छुटाउँछ नेपालीका यी सन्तानलाई ?

भारतमा झण्डै चार दशकदेखि एक नेपाली बन्धक ? सुन्दा आश्चर्य लाग्ला तर यो वास्तविकता हो । दक्षिण अफ्रिकामा नेल्शन मण्डेला २७ वर्ष थुनिनुभयो, नेपालमै हालका प्रधानमन्त्री केपी ओलीले ०४६ सालअघि १४ वर्ष बन्दी जीवन बिताउनुभएको हो तर यहाँ त ३८ वर्ष गुमनाम जिन्दगी बिताउनुपर्दाको पीडा छ । कुनै ज्यान वा खुन–डाँका मुद्दा होइन, तर विदेशको बन्दी शिविरमा एउटा नेपालीले बिना कुनै कानुनी उपचार जीवनको आधी उमेर गुजार्दै बस्नु चानचुने कुरै होइन ।

भारत, पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित दमदमको करेक्सनल होममा ३८ वर्षदेखि कैदी जीवन खेप्दै आएका नेपाली हुन्, इलामका दिपक जोशी । केस नं. ३१÷८१ र प्रहरीको जिआर नं. २९२(१)८० भएका उनी बिनासुनुवाई जीवनको आधा समय त्यहाँ थुनिएका छन् । दिवंगत लप्टन चम्पक जोशीका छोरा हुन् । घर इलामको एसकेलोफा उल्लेख छ । तर, इलाम जिल्लामात्रै हैन, नेपालभर त्यस्तो नाम गरेको ठाउँ कतै छैन । अहिले पनि उनको पक्षमा बोलिदिने कोही नहुँदा भित्रै बस्नुपरेको छ ।

ठेगाना रुजु गरेर दिल्लीस्थित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट हाल्ने तयारी छ । युद्धबन्दीलाई पनि यति लामो समयसम्म थुनामा राखिन्न, त्यसमाथि अदालती कारवाही नै शुरु नगरी । पहिला दार्जिलिङ अतिरिक्त सेशन जज कोर्ट वनले ट्रायल बेसिस (हाम्रोमा पुर्पक्ष भनेजस्तो) अन्तर्गत उनलाई थुनामा राखेको थियो । त्यहाँबाट चलान भई दमदम लगिएका हुन् । उनीमाथि मानव बेचबिखनको आरोप लगाइएको बताइन्छ । यत्तिका वर्षसम्म एक दिन पनि अदालतको आदेश नलिई किन सुधारगृहमा राखियो ? यसरी थुनेर के सुधार गरियो ? पत्तो छैन । यसबीच, बुबा बिते, परिवार छिन्नभिन्न भयो । भेट्न आउने र खोजखबर लिने आफन्त, साथीभाइ कोही भएनन् ।

पश्चिम बंगाल प्रान्तका १९ जिल्लामध्येको पूर्वमेदिनीपुरका एकजना कैदी केही समय दमदम सुधार गृह (कलकत्ता–२८ वार्ड नं. ३/७) मा दिपकसँगै बसेका थिए । उनलाई लाग्यो, अदालतमा पेश गर्न पाए यी बिचरा नेपाली छुट्न सक्छन् । तर, उनका लागि कानुनी उपचारमा मद्दत गर्ने मान्छे कोही भइदिएनन् । पूर्वमेदिनीपुरका ती कैदीले आफू बाहिर आएर यो कुरा सुनाएपछि एक जना वकिलले कलकत्तास्थित नेपाली महावाणिज्यदूतका निजी सचिव सतिश थापालाई गत बिहीबार कात्तिक १३ गते गुनासो पोखे । र, नेपालका पूर्वन्यायाधीश विदुरविक्रम थापासँग सम्पर्क गरे ।

विदुरले मानवअधिकार आयोग हुँदै परराष्ट्रसँग सूचनाको हकअनुसार सूचना मागे । तर, नेपालको तर्फबाट कुनै संस्थागत पहल भएन । जबकि, नेपालको कुनै कारागारमा विदेशी नागरिक थुनियो भने सम्बन्धित देशको दूतावासले महिनैपिच्छे चासो राख्दै चिठी र इमेल लेखेर हैरान पार्छ । तर, हाम्रो देशको नागरिक छिमेकी मुलुकमै, त्यो पनि नेपालीभाषीको बाहुल्यता भएकै क्षेत्रमा ३८ वर्षदेखि थुनिएका छन् । र पनि कुनै खोज–खबर छैन ।

दमदममा दिपकमात्रै हैन, केही समयअघि करिव सात–आठ जना युवती पनि थुनिएका थिए । कामका लागि दुबई जाने क्रममा त्यहाँ पुगेका उनीहरू मानव बेचबिखनको आशंकामा पक्राउ परेका हुन् ।

टिप्पणीहरू