नेकपाको योचाहिँ तानातान
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यहरू शनिबार बिहानको चिसोमा फेरि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका छन् । उनीहरूले हिजोको अनौपचारिक बैठकको औपचारिक निर्णयलाई पार्टीको लेटर प्याडमा लेखेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै दिउँसो बालुवाटारमा बुझाउने तयारी रहेको बताइन्छ् ।
पार्टीभित्र देखिएको विवादको पछिल्लो उत्कर्षलाई साम्य पार्न राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसबीच सक्रियता देखाउनुभएको छ । केही दिनअघि उपाध्यक्ष तथ संगठन विभाग प्रमुख वामदेव गौतमलाई भेटेपछि राष्ट्रपतिले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्नुभएको हो ।
भेटमा राष्ट्रपतिले बादललाई ‘पार्टी एकताको लागि तपाईंले गर्दै आउनुभएको पहल सह्रानीय रहेको बताउँदै, आवश्यकताबमोजिम भोलिका दिनमा पार्टी तथा नेतृत्वले तपाईंको उचित मूल्याङ्कन गर्ने मैले विश्वास लिएको छु’ भन्नुभएको स्रोतको दाबी छ । ‘तपाईंको साथले पार्टी एकतालाई अघि बढाउन ठूलो मद्धत मिल्ने’ बताउँदै राष्ट्रपतिले घुमाउरो तवरले प्रधानमन्त्रीको साथ नछाड्न सुझाव दिएको बताइन्छ ।
सचिवालयका बहुमत सदस्यहरूले लिखित पत्र बुझाएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बैठक आह्वानको लागि तयार नभएको बालुवाटारको दाबी छ । केही दिनअघि निधन भएकी सांसद सानु सिवाको ठाउँमा अब जानकी रामको नियुक्ति हुने छ । सिवा ओली क्याम्प र जानकी इतर खेमाको रहेको श्रोतको दाबी छ । निर्वाचन आयोगमा पछिल्लो निर्वाचनअघि बुझाइएको समानुपातिक सूचीबमोजिम नै रिक्त हुन आउने सांसदको पदमा पूर्ति हुने कानुनी व्यवस्था छ । यसले पनि बालुवाटार र खुमलटारबीच अहिलेको रस्साकस्सीमा छुट्टै महत्व राख्ने बताइन्छ ।
खुमलटार र बालुवाटारको समीकरण तानातानमा झण्डै १० जना सांसदको जोड घटाउले काम नगरेपछि बहुमत पुर्याउने चक्करले गति लिन सकेको छैन । बालुवाटारले१० जना सांसदलाई आफ्नो पक्षमा पार्न लागेको थाहा पाउनेबित्तिक्कै खुमलटारले सात जना थुत्ने खेल खेलेपछि बालुवाटार हायलकायल भएको निश्कर्ष निकालिएको छ ।
संसदीय दलमा बहुमत पुर्याउने नाममा ’भ्यागुताको धार्नी’ नपुगेपछि केही समयदेखि उक्त खेल लगभग ‘हापिएको’ बताइन्छ । राष्ट्रिय सभाको सांसद जोडिएको अवस्थामा समेत नयाँ परिस्थिति आफू अनुकूल नबन्ने देखिएपछि हाललाई आफ्नो समूहमा रहेका सांसदलाई जोगाउनुको विकल्प दुबै खेमासामु देखिन्न ।
टिप्पणीहरू