उत्तरपुस्तिका विवादमा झन अलमल

त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विषयका उत्तरपुस्तिका नष्ट पारेको एउटा विवादमा ‘अनुसन्धान तहकिकात गरी पाऊँ’ भन्दै दिइएको उजुरीउपर प्रहरी महानिरीक्षकको निर्देशनबमोजिम छानबिन समिति गठन भएको छ ।

कसूरदारलाई जोगाउने नियत राखी गलत प्रतिवेदन बुझाएको दाबीसहित स्याङ्जाका परीक्षार्थी आशिष पौडेलले उजुरी दिएका थिए । दोषीमाथि कारवाही र न्यायको माग गर्दै पौडेल सर्वोच्च अदालत, अख्तियार, सूचना आयोग र सतर्कता केन्द्र हुँदै प्रहरी महानिरीक्षकसमक्ष पुगेका हुन् ।

छानबिनपछि समितिले ठोष निश्कर्षसहित प्रतिवेदन पेश गर्ने भएको छ । यसअघि पौडेलले महानगरीय प्रहरी परिसरका प्रहरी कर्मचारी, जिल्ला सरकारी वकिल कार्यालय काठमाडांैैका जिल्ला न्यायाधिवक्ता शान्ति न्यौपाने र सहन्यायाधिवक्ता हरि रेग्मीसमेतको मिलेमतोमा प्रमाणलाई नजरअन्दाज गर्दै उजुरी तामेलीमा राखिएको दाबीसहित महान्यायाधिवक्ता कार्यालयमा पनि उजुरी दिएका थिए ।

‘थप प्रमाण बुझेर आवश्यक अनुसन्धान तहकिकात गर्नू भनी प्रहरी परिसरलाई आवश्यक निर्देशन जारी गर्न माग राखेर उजुर गरेको थिएँ । वरिष्ठ प्रहरी उपरीक्षक किरण ब्रजाचार्यको नेतृत्वमा छानबिन समिति गठन भएको जानकारी प्राप्त भएको छ,’ पीडित पौडेलले भने, ‘यता अधिकारको दुरूपयोग गरी शक्तिशाली कसूरदारलाई प्रमाण दबाएको कसूरबाट उन्मुक्ति दिलाउन खोजेकोले जिल्ला सरकारी वकील कार्यालयका कर्मचारीउपरसमेत हदैसम्म कारबाही गरी पाऊँ भनी महान्यायाधिवक्तासमक्ष पनि उजुरी दर्ता भएको छ ।’ पीडित परीक्षार्थीको जाहेरी दर्ता नहुने बताउँदै असोज १२ गते महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन फाइल तामेलीमा राख्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

उत्तरपुस्तिका त्रिविले धुल्याएर खरानी पारेपछि उत्पन्न विवाद फेरि जिल्ला सरकारी वकिल कार्यालय हुँदै प्रहरीमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्रअन्तर्गत प्रथम सेमेष्टरको पुरानो पाठ्यक्रममा आधारित ‘क्वान्टम मेकानिक्स’ विषयको २०७५ साल पुस २९ गते लिइएको परीक्षामा गडबडी भएको विवाद यसरी एकपछि अर्को गर्दै तन्किएको हो । महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको उक्त परीक्षामा केही विद्यार्थीले भौतिकशास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै अवज्ञा गरेपछि विवाद शुरु भएको थियो ।

त्रिविले भने विद्यार्थीका मागमा सुनुवाई नगरी उक्त विषयको परिक्षाफल २०७६ बैशाख ११ गते प्रकाशित गरिसकेको छ । यो विवादमा सर्वोच्च अदालत र सूचना आयोगले उत्तरपुस्तिका नष्ट नगरी जे जस्तो अवस्थामा छन् सोही स्थितिमा जस्ताको तस्तै सुरक्षित राख्न भनेका थिए । त्रिविले भने विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० बमोजिम परीक्षाफल प्रकाशन भएको चार महिनासम्म मात्र उत्तरपुस्तिका सुरक्षित राखिने व्यवस्था रहेको दाबी गर्दै धुल्याइसकेको छ ।

टिप्पणीहरू