राजदूत अमेरिकाको, साइनो पुस्तकको
दुई महिना अघिसम्म अर्थमन्त्री रहेका युवराज खतिवडालाई सरकारले अमेरिकाको लागि राजदूतमा सिफारिश गरेको छ । पर्सि बिहीबार संसदीय सुनुवाई समितिले कर्मकाण्डीय प्रक्रिया पूरा गरेर राजदूत बनाउन औपचारिक रूपमा मार्ग प्रशस्त गरिदिने पक्कापक्की छ । तर यति नै बेला सरकारले उनै विद्वान भनिएका डा.खतिवडाले अर्थमन्त्री हुँदा पुस्तक आयातमा लगाएको कर हटाउने निर्णय गरेको छ ।
कार्यकालमा तीन वटा बजेट घोषणा गरेका उनले दोस्रो बजेटमा सबै पुस्तकमा १० प्रतिशत भन्सार लगाइदिएका थिए । सर्वत्र बिरोध हुँदा पनि पीएचडी होल्डर खतिवडा आफ्नो अडान र निर्णयमा टसमस नभएपछि डेढ वर्षदेखि मुलुकभित्र गहकिला पुस्तकको माग नै घटेको थियो । खतिवडाको निर्णयपछि नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले किताब आयात नै बन्द गर्यो । सरकारलाई दबाब दिन वर्षेनी हुँदै आएको ‘अन्तर्राष्ट्रिय पुस्तक मेला’ समेत रद्द गर्यो ।
उता, आजभन्दा झण्डै ३४ वर्ष अगाडि त्यसैगरी पुस्तकसँग जोडिएका विश्व प्रधान अमेरिकामा नेपालको राजदूत थिए । त्यसअघि राजदूतको रूपमा २०३३ सालदेखि ३७ सालसम्म इजिप्टमा थिए । अमेरिकाको राजदूत हुनअघि परराष्ट्र मन्त्रालयमा सचिव रहे । त्यतिबेला प्रधानले नेपाल-चीन सीमा आयोगको नेतृत्वसमेत गरेका थिए ।
उनले अमेरिकाको राजदूत हुनुअघि नै पाँच वटा पुस्तक लेखेका थिए । तर,२०४४ सालको मंसीरमा वासिङ्गटन डिसीस्थित एउटा पुस्तक पसलबाट चिकित्साशास्त्रसम्बन्धी पुस्तक चोरेको आरोप लाग्यो । आरोप लागेको झण्डै आठ महिनापछि २०४५ साउनमा उनलाई राजदूतको जिम्मेवारीबाट पदमुक्त गरिएको थियो । उनले मुश्किलले अढाई वर्ष मात्र राजदूत भएर डिसीमा बस्न पाएका थिए ।
टिप्पणीहरू