सचिवालय बैठक र संखुवासभा
नेकपाको सचिवालय बैठक पर्सि बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना हुने भएको छ । बहुमत सदस्यहरुले आज अपरान्ह अध्यक्ष केपी ओलीलाई जानकारी दिएर मिति तय गरेका हुन् । त्यसअघि बालुवाटार पुग्नुभएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्रीले हतारमा बैठक नबोलाउन आग्रह गर्नुभएको थियो । स्रोतका अनुसार ‘सहमति होओस् वा विमति,सचिवालयको बैठक दुई दिनपछि हुने पक्का गरी बहुमत सदस्यहरु उठ्नुभएको छ ।’
अर्को एक स्रोतका अनुसार धुम्बाराहीमा आज अपरान्ह सचिवालयको अनौपचारिक बैठक बस्नुअघि प्रधानमन्त्रीले बैठक बोलाउने सम्बन्धमा केही लचकताको संकेत देखाउनुभएको थियो । तर,आफ्नो बारेमा कुनैपनि बैठकमा एजेण्डा बनाउन नहुने भन्दै उहाँले रिजर्भेशन राख्नुभएको हो । आजको अनौपचारिक सचिवालय बैठकमा स्थायी समितिको तत्काल बैठक बोलाउनुपर्ने एजेण्डामा बहुमत सदस्यहरु सहमत देखिएका थिए ।
यसअघि शनिबारको अनौपचारिक बैठकपछि अर्को बैठक आह्वानको लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्षलाई दुई दिनको लिखित अल्टिमेटम दिईएको थियो । त्यसको म्याद आज सकिँदैछ । सचिवालयका बहुमत सदस्यहरु कुनैपनि हालतमा विधि र पद्धतिसंगत ढंगले अघि बढ्ने विषयमा पछि नहट्ने देखिएपछि बालुवाटारले बैठक आह्वानको लागि लचिलो हुने संकेत देखाएको बताइएको छ ।
आज बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री निकटहरुको बैठकमा समेत सोसम्बन्धमा विस्तृत छलफल भएको थियो । भेलाले वर्तमान अवस्थामा आफूहरुको अडानले अन्ततः आफैलाई हानी पुर्याउने ठहर भएपछि बैठक बोलाउने तर,प्रधानमन्त्री तथा अध्यक्षको बारेमा कुनैपनि एजेण्डा बनाउन नहुने जिकीर लिनुपर्ने निश्कर्ष निकालेको हो ।
यता,काठमाडौंमा पार्टीको बैठकमा उपस्थित हुन अनकाउँदै आउनु भएका प्रधानमन्त्री भोलि बुधबार संखुवासभाको किमाथांका र चेपुवा बस्ती हुँदै अरुण ३ को कार्यक्रममा सहभागी हुने बताइएको छ ।
टिप्पणीहरू