कोरोनाले बिहारमा जितायो, अमेरिकामा हरायो
विश्वव्यापी महामारी कोभिड–१९ ले विश्वको स्वास्थ्य र अर्थतन्त्रमा मात्र होइन, राजनीतिमा समेत असर पार्न थालेको छ । महामारी रोकथाममा ध्यान नदिएको र कोरोनाको कारण बढेको बेरोजगारी घटाउन कुनै प्रयास नगरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालको लागि गरिएको प्रतिस्पर्धामा पराजित भएका छन् । तर, छिमेकी भारतको बिहार राज्यमा भने त्यहि कोभिड–१९ र त्यसको रोकथामका लागि आविष्कार नभइसकेको खोपलाई देखाएर सत्तारुढ दल भारतीय जनता पार्टी ९बीजेपी० नेतृत्वमा रहेको एनडीए गठबन्धनलाई बहुमत प्राप्त भएको छ ।
विधानसभा चुनावमा एनडीए गठबन्धनमध्ये बीजेपीलाई ७४ र बिहारका मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेड (जेडीयू) लाई ४३ सिट प्राप्त भएको छ भने हिन्दुस्तान अवाम मोर्चा (हम) र विकासशील इन्सान पार्टी ९भीआईपी० ले क्रमशः ४–४ सिटमा जित हात पारेका छन् । तेजस्वी यादव अध्यक्ष रहेको राष्ट्रिय जनता दल ९आरजेडी० नेतृत्वको महागठबन्धन १ सय १० सिट जितेर शक्तिशाली विपक्षी बनेको छ ।
त्यसमध्ये आरजेडी एक्लैले ७५ स्थान जितेर बिहारको सबैभन्दा ठूलो दल बनेको छ । उक्त गठबन्धनमा रहेको भारतीय राष्ट्रिय काँग्रेसले भने १९ सिट मात्र हात पारेको छ । बिहारमा तीन वटा कम्युनिष्ट पार्टीले कूल १६ स्थानमा जितेका छन् । पाँच वर्षअघिको चुनावमा बिहारमा वामपन्थी दलहरूले जम्मा ३ सिटमा चित्त बुझाएका थिए । तेजस्वी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन् ।
झण्डै आठ महिना अघिदेखि फैलिएको कोभिड–१९ महामारीबीच गरिएको पहिलो पटकको चुनाव भएकाले पनि विपक्षीहरूले बीजेपीको भविश्यसँग जोडेर हेरेका थिए । तर, सबैलाई चकित तुल्याउँदै बिहार चुनावमा भाजपाले अपनाएको खोप राजनीतिले विपक्षीलाई सजिलैसँग पराजित गरेको बताइन्छ । भाजपाले चुनावको मुखैमा सार्वजनिक गरेको चुनावी घोषणापत्रमा बिहारका सबै नागरिकलाई निःशुल्क कोभिड–१९ खोपको आश्वासन दिएपछि अन्य राज्य र राजनीतिक दलहरूले आश्चर्य व्यक्त गरेका थिए ।
किनकि हालसम्म केन्द्र र राज्यहरूबीच प्राथमिकताका आधारमा कसरी खोप उपलब्ध गराउने भन्ने विषयमा नै ठोस निर्णय भइसकेको छैन । यससम्बन्धमा धेरै चरणको वार्ता भइरहेको थियो । तर,बिहारमा एकाएक सबैलाई निःशुल्क खोप उपलब्ध गराउने भाजपाको लिखित प्रतिबद्धताले निर्वाचनमा अचुक अस्त्रको काम गरेको देखिएको छ ।
उता,संघीय वित्तमन्त्री निर्मला सिथारामनको भनाईपछि, भाजपाको सूचना प्रविधि इकाई ९आईटी सेल० का अमित मालवियाले गरेको ट्वीटबाट पनि कोभिड–१९ को खोप देखाएरै चुनाव जितिएको पुष्टि भएको छ । मालवियाको ट्वीटमा लेखिएको छ ‘अन्य सबै कार्यक्रमहरूझैँ कोभिड– १९ को खोप पनि केन्द्रले नाममात्रैको मूल्यमा राज्यहरूलाई प्रदान गर्नेछ । त्यसपछि सःशुल्क वा निःशुल्क कसरी वितरण गर्ने भन्ने निर्णय राज्य स्वयमले गर्ने हो । तर, स्वास्थ्यसम्बन्धी विषय राज्यको अधिकारभित्र पर्छ । बिहार भाजपाले यसलाई निःशुल्क दिने निर्णय गरेको छ । चुनाव जितिएको चुरो कुरो यत्ति हो ।’
उक्त रहस्य बाहिरिएलगत्तै भाजपाले बिहार र केन्द्रमा एकैसाथ शासन गर्ने रणनीतिका साथ ल्याएको निःशुल्क खोपको घोषणालाई लिएर अन्य राज्यहरूले पनि सोहीबमोजिम धारणा बनाउनसक्ने बताइएको छ । तमिलनाडु र मध्य प्रदेशले पनि कोभिड–१९ को खोप निःशुल्क वितरण गर्ने बताइसकेका छन् । बिहारमा भएको खोपको राजनीति बढ्दै जाँदा केन्द्रले पूरै भारतमा कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।
काँग्रेस शासित छत्तिसगढ़का स्वास्थ्यमन्त्री टीएस सिंह देवको पछिल्लो भनाईले धेरै वटा राज्यको धारणालाई प्रतिबिम्बित गरेको छ । उनकाअनुसार ‘हामीलाई कोभिड–१९ खोप खरीदको बारेमा केन्द्र सरकारले हालसम्म केही पनि भनेको छैन । यदि अन्य राज्यले कोभिड–१९ को मूल्य भुक्तानी गर्नुपरेमा हामी त्यस्तो खोप जनसङ्ख्याको अनुपातमा उपलब्ध गराउनुपर्ने अडानमा रहने छौं । एउटा कुनै विशेष राज्यको लागि मात्र खोपको विशेष वितरणको व्यवस्था गर्न सकिँदैन ।’
केन्द्रले नै देशभरि कोभिड–१९ को खोप निःशुल्क उपलब्ध गराउने हो भने त्यसलाई अब राष्ट्रिय स्वास्थ्य मिशनअन्तर्गत युनिभर्सल खोप कार्यक्रम ९यूआईपी० मा समावेश गर्नुपर्ने हुन्छ । यूआईपी केन्द्र सरकारको निःशुल्क खोप कार्यक्रम हो । यसअन्तर्गत अहिले पनि २ करोड ६७ लाख नवजात शिशु र २ करोड ९० लाख गर्भवती महिलालाई वार्षिक रूपमा निःशुल्क खोप प्रदान हुँदै आएको छ ।
टिप्पणीहरू