लिने लापत्ता, दिनेलाई दुःख

लक्ष्मी शाही

नजिकको मान्छे ठानी ऋणधन गरेर दिएको रकम फिर्ता नपाउँदा कस्तो होला ? दश–बीस हजार वा एक–दुई लाख मात्रको कुरा होइन, दशौं लाख लेनदेनको मामिला हो । सापटी लिइसकेपछि समयमै चुक्ता गर्नु त कहाँ हो कहाँ, मान्छे नै बेपत्ता भइदिएपछि सेतु न्यौपानेको परिवार उठिबास भएको छ । रकम लिने लक्ष्मी शाही अहिले कुन दुलोमा छिन्, अत्तोपत्तो छैन । नभएको सेतुका परिवार बताउँछन् ।

सेतुका पतिको नाम धनराज न्यौपाने, माइतीको थर शाही ठकुरी । पहिले जुम्ला घर भएका उनीहरू झण्डै २० वर्षअघि बसाइँ सरी सुर्खेतको वीरेन्द्रनगरमा आएर बस्दै थिए । त्यहीँ भेटिइन् लक्ष्मी शाही (पतिको नाम महेन्द्र), उनीहरूचाहिँ कालिकोटबाट आएका । जहाँबाट आए पनि एउटै ठाउँमा बस्ने अनि शाही नै भएका कारण गोत्रले पनि आफ्नै ठानेर नजिकको व्यवहार गरिन् सेतुले । यसैक्रममा २०७२, ०७३ सालतिर लक्ष्मीले घर बनाउन र व्यवसाय सञ्चालन गर्न भन्दै पैसा सापटी मागिन् । सेतुको स्थानीय साहु र वित्तीय संस्थासित राम्रै सम्बन्ध थियो । छोटो समयमै चुक्ता गर्ने र ब्याज पनि राम्रै दिने भनिएपछि सेतुले आफूसँग नभए पनि चिनेजानेका धनी व्यक्तिसित मागेर र लघुवित्त संस्थाबाट ऋणै झिकेर लक्ष्मीको हातमा रकम थमाउँदै गइन् ।

दुईपटक वकिलबाटै तमसुक बनाएर लक्ष्मीलाई पैसा दिएको लिखत सेतुसँग सुरक्षित छ, एकपटक सातलाख, एकपटक १३ लाख । त्यसबाहेक लाख÷दुई लाख गरेर पटक–पटक पैसा दिएको सेतु बताउँछिन् । जम्माजम्मीे ४६ लाख दिएको र पछि आफ्नी बहिनी पर्ने ठूलोबुबाकी छोरीलाई पनि थप आठ लाख दिन लगाएको उनको भनाइ छ । कहिले एक/दुई महिनामै त कहिले एक वर्षभित्रै फिर्ता गर्ने बताएकी लक्ष्मीले रकम लिइसकेपछि भने समयमै नतिरी विभिन्न बहाना बनाएर भोलि–भोलि भन्दै टार्न थालिन् । श्रीमान्लाई पहिल्यै भगाइहालिन् । कतिसम्म झेल गरिन् भने सेतुकी छोरी सीताको नाममा एकपटक पाँच लाख (राष्ट्रिय वाणिज्य बैंक) र अर्काेपटक चार लाख (नेपाल बंगलादेश बैंक) को चेक काटेर दिइन् तर बैंकमा जाँदा पैसा थिएन । उता, समयमै ऋण नतिर्दा लघुवित्त र अन्य साहुहरूले अँठ्याउने नै भए । यही ऋणको झमेला असह्य भएर एकपटक छोरीसहित आफू विष सेवन गरी मर्न खोजेको तर छिमेकी बहिनीहरूले थाहा पाएर जोगाएको बताउँदै ५० वर्षिया सेतुले भनिन्, ‘ती बहिनीहरूले मेटासिड खोसेर लगी सेफ्टी ट्यांकीमा फालिदिए । अनि उनीहरूकै सल्लाहमा त्यहाँको थातथलो छाडेर काठमाडौं छि¥यौं ।’

सुर्खेतको घरघडेरी बेचेर केही पैसा साहु र वित्तीय संस्थालाई बुझाउनुपरेको र त्यो ऋण चुक्ता गर्न अझै बाँकी रहेको सेतु बताउँछिन् । लक्ष्मीले गर्दा सुर्खेत बस्ने वातावरण नभएपछि काठमाडौं गई अर्काको घरमा भाँडा माझ्ने, ट्वाइलेट सफा गर्नेसम्मको काम गरेर आफूले परिवार पाल्नुपरेको गहभरि आँसु बनाउँदै उनले सुनाइन् । उनीहरू काठमाडौं छिरेपछि लक्ष्मीले मोबाइल नम्बर नै चेञ्ज गरिछन् । पछि सुर्खेतमा चिनेजानेकालाई फोन गरेर सोध्दा एक जनाबाट नयाँ नम्बर पत्ता लाग्यो । फोन गर्दा आफूहरू पनि काठमाडौं आएको भन्दै लक्ष्मीले एकदिन पैसा लिन माछापोखरी आउनू भनेर बिहान १० बजेको समय दिइन् । सेतुका आमाछोरी बिहानै पुगे तर आठै बजेबाट लक्ष्मीको मोबाइल स्वीच अफ । त्यसपछि न फोन सम्पर्क, न भेटघाट ।

सुर्खेतको घरजग्गा नै बेचेर लापत्ता भएकी लक्ष्मीलाई फेसबुकमा पनि धेरै खोजेको सेतुले बताइन् । भनिन्, ‘हामीले सम्पर्क गर्न थालेपछि फेसबुक अकाउन्ट पनि बदल्दै गइन् । पहिले लक्ष्मी शाही, त्यसपछि लक्ष्मी शाही ठकुरी अनि दृष्टि शाही, अन्तिममा तिमीबिनाको पलको नाममा फेसबुक चलाएको भेटियो । त्यसपछि अहिले कुन आईडी चलाउँदैछे, थाहा पाउनै सकिएको छैन ।’ पटक–पटक प्रहरी कार्यालय चहार्दा पनि कुनै उपलब्धि नभएको उनी बताउँछिन् । लक्ष्मीहरू जापान पो पुगे कि ! भन्ने आशंका व्यक्त गर्दै उनले भनिन्, ‘मबाट पैसा लिने बेलामा श्रीमान्लाई जापान पठाउने कुरा गर्दै थिई ।’

२४/२५ वर्षको हुँदा सेतुसित पैसा लिएकी लक्ष्मी ३० को हाराहारीमा पुगेकी छन् । बाहिर जुनसुकै मुलुक वा नेपालभित्र जहाँ भए पनि यी तस्बिरकी लक्ष्मी शाहीलाई देख्ने, चिन्नेहरूले मोबाइल नं. ९८४३३०५५३५ मा खबर गरेर सहयोग गरिदिन हुन सम्पूर्णमा सेतुको अनुनय छ । यदि, लक्ष्मी भेटिएर लिनुपर्ने रकम असुलउपर हुन सके जानकारी दिएर सघाउने मानिसलाई आफूले २/४ लाख रूपैयाँ खुशीले इनाम दिने पनि उनले बताइन् । सुर्खेत छँदै ब्याज भनेर केही रकम दिए पनि लक्ष्मीले अझै आफूलाई ३७/३८ लाख दिनुपर्ने उनको कथन छ । शरीरमा हाडछालाबाहेक केही छैन, शारीरिक रूपमा कमजोर छिन् सेतु । पहिल्यैदेखि श्रीमान्को स्वास्थ्य पनि तन्दुरुस्त होइन । पछिल्लो समय छोरी चितवनमा होटल चलाएर बस्दै छिन् । लक्ष्मीकै कारण बेघर भएको बताउने आमाबुबा र एउटा छोरा पनि अहिले ती छोरीसँगै छन् ।

–अजय गोर्खालीबाट

टिप्पणीहरू