पुल्पुलिएर कामै छैन ओ, युवापुस्ता

जित्नेको लेखिन्छ इतिहास । तर, सबैका लागि कहाँ प्रियकर हुन्छन् र आफ्ना विगत ? एउटा अत्यासलाग्दो विगतबाट उठेको मान्छे म । बेला–बेला झस्काइरहन्छ आफ्नै भूतले ।

साढे दुई दशकअघि एसएलसी उत्तीर्ण भएपछि सिन्धुलीबाट कलेज पढ्न काठमाडौं झरेँ । भर्ना भएँ रत्नराज्यलक्ष्मी क्याम्पसमा । तर, अक्षर कम र मान्छे ज्यादा पढ्न लागियो । गाउँमा छँदा इमान्दार र जेहन्दार विद्यार्थी, शहरको हावासँगै बदलिँदै गएँ । मान्छे अभावमा छ भने संघर्ष गर्छ । जे माग्यो त्यही पु¥याइदिने अभिभावक हुँदा बच्चाहरू कसरी बिग्रन्छन्– एउटा उदाहरण हुँ म । त्यसैले बच्चालाई अभावमा जिउन सिकाउनुपर्ने रहेछ । बसाइ थियो कलंकी, एलआरआई स्कुल नजिकै । बुवा ब्रिटिश लाहुरे । कलेज पढ्न काठमाडौं खाल्डोमा छिरेपछि नयाँ–नयाँ आकांक्षा पलाए । नयाँ–नयाँ फर्माइस बुबासामु राख्दै गएँ । मेरो हरेक फर्माइस, इच्छा आकांक्षाहरू बुवाले पूरा गर्दै जानुभयो– एउटा कुशल र जिम्मेवार छोरा बन्ला । गाउँ समाजमा इज्जत राख्ला भनेर ।
एउटा बच्चालाई आमाले काखमा बोक्छिन्, बुवाले काँधमा । कारण हो, आमाले सदैव बच्चालाई हृदयकै वरपर राख्न चाहिन्छन् । अनि बुवाले आफूभन्दा पनि माथि (ओहोदा) पुगेको देख्न खोज्छन् । बालापनमा तिनै बुवाको काँधमा चढेर हुर्किएको म शहर छिरेपछि दिन प्रतिदिन डिमाण्डहरू बढ्दै गए । बुवाले हरेक माग पूरा गर्नुभयो । विना वचन । सबैभन्दा पहिला मोटरसाइकलको फर्माइस राखें । पूरा भयो । त्यसपछि त कलेज र पढाइ कम, सढाइ बढी हुनथाल्यो । तर बुवा आमाको फोन आउँदा पढिरहेको,कलेजमै भएको जवाफ फर्काइरहन्थें ।
हिजो मसँगै कलेज भर्ना भएका सहपाठी आज सरकारी सेवाको उच्च ओहदामा छन् । कोही व्यवसायमा जमेका छन् । सुखसयलको जीवन बिताइरहेका छन् । अनि म ?

पैसा र बैंशले बिग्रिए, कुहिएँ ।

लाग्छ, उनीहरूलाई देख्दा, भेट्दा मैले पनि उसैगरी पढेको भए ! अहिले उनीहरूजस्तै हुन्थें, वा अझ माथि नै पुग्थें । तर बेलामा बुद्धिमा बिर्काे लाग्यो, अहिले थकथकाएर मात्र के गर्नु ? न्याउरी मारी पछुतोजस्तो हालत छ मेरो । भन्छन् नि, मौका आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन । अहिले बुझ्दै छु समयको महत्व । समयमै केही सिक्न र पढ्न सकेको भए आज पछुताउनुपर्ने थिएन । चुक्चुकाउनुपर्ने थिएन । अहिले यी जम्मै कुरा महसुस गर्छु । तर, समय कैयौँ कोश पर पुगिसकेको छ, मलाई किनारामै छाडेर ।
भन्छन् नि संगत गुणाको फल । कुनै समय दुर्याेधनको संगतले भीष्म पनि गाई चोर्न हिँडेका थिए । म त सामान्य मान्छे, गाउँले परिवेशबाट काठमाडौं छिरेको । काठमाडौंमा मेरो हरेक इच्छा आकांक्षा चाहना पूरा गर्ने अभिभावक हुनुहुन्थ्यो । मैले कहिले सोधिन, खोजिन मेरा बुवाले मेरा इच्छा आकांक्षा कसरी पूरा गरिरहनुभएको छ ? लहै लहैमा लागेर लक्का जवान (उमेर) त्यसै खेर फालियो । पुग्दो पैसा थियो होटेल, रेष्टुरेन्टमा गएर मोज गर्नका लागि । खासै कठिन थिएन । यही पैसा र बैंशले बिग्रिए, कुहिएँ ।

एउटा न एउटा बहाना बनाएर महिनाअवधिभर मोजमस्ती गर्ने खर्च परिवारबाट हात पथ्र्याे । अनि शुरु हुन्थ्यो ठमेलदेखि दरबारमार्ग, नगरकोटसम्मको रंगीन रात । त्यतिबेला यस्ता भ्यालेन्टाइन, स्यालेन्टाइको जमाना थिएन । न आफूले मन पराएको केटीलाई फेब्रुअरी १४ मा गुलाबको फूल दिएर ‘प्रपोज’ गर्ने चलन नै । तर, युवायुवतीमा ‘कुर्कुरे’ बंैशचाहिँ थियो । २२ वर्षको उमेर भए पनि पढाइ, काम भन्दा बेसी मनोरञ्जनतिर मन जान्थ्यो । साथीहरू पनि उस्तै । जाँड, रक्सी, जुवा तास खेल्नु हाम्रालागि मामुली काम थियो । दैनिक नमातेको र तास खेलेर नरमाएको क्षण थिएन । हो, त्यो समय यस्तै थियो । पहिला पहिला साथीहरू कर गरी गरी पिलाउँथे, पछि साथीहरूलाई पिलाएको पैसा आफैं तिर्ने भएँ । यसरी कलेज पढ्न आएको केटो १५ वर्षसम्म आफ्नो जोवनलाई डस्टबिनमा फालिएछ भनौं न बेहोसीमै बाँचिएछ । खाली सुरासुन्दरी र रंगरोशमा भुलियो । केटी जिस्क्याइन्थ्यो । समयले यो जिस्किने बेला होइन भनेर इंगित गरे पनि मैले त्यो बुझिनँ । जतिखेर होशमा आएँ निकै ढिलो भइसकेको थियो । समयले मलाई किनारामै छाडेर ऊ निकै पछि हुत्तिसकेको रहेछ ।

सदैव एउटै लिगमा कहाँ गुड्छ र जीवनको रेल ? ०६५ को मध्यसमयमा एकाएक बिरामी भएँ । महिनौँ कोठामा थलिएँ । तर, मैले हिँडेको बाटो, रोजेको मार्ग घरपरिवार कसैलाई चित्त बुझेको थिएन । मलाई नै चित्त बुझेको थिएन, कालान्तरमा । म आफैं थकथकाउँदै थिएँ, पछुताउँदै थिएँ । मेरो आनीबानी र स्वभावसँग परिचित र आजित भएको थियो परिवार । महिनौँसम्म थलिएपछि घरमा खबर पठाएँ बिमार परेकाले उपचार खर्च पठाइदिनका लागि । तर, यसपटक खर्च आएन । बुवाले मरिगए पैसा पठाइदिनुभएन । मैले एसएलसी दिएको केही वर्षपछि नोकरीबाट अवकाश पाउनुभएका बुवाले मेरा लागि आफ्ना इच्छाआकांक्षा तुहाउनुभयो । आफू दुःखको पहाडसँग पैंठेजोरी खेलेरै भए पनि मेरो सपना र रहरलाई रंगाइरहनुभयो,साकार पारिरहनुभयो । तर, जब म ट्र्याकबाट बाहिर गइरहेको चाल पाउनुभयो तब ‘त्यो मरे पनि मरोस् । अनुहार हेर्न मन छैन । त्यसले मेरो सपना तुहायो, नाक काट्यो, भन्ने खबर पठाउनुभयो ।

सुत्यो शरीर पोलेर सुत्न नसकिने, उठ्यो मन पोलेर बस्न नसकिने । आँखा खोल्यो पनि पीडा, आँखा चिम्ले पनि पीडा ।

आखिर यो दुनियाँको रीत पनि बडो अनौठो छ । सुखको प्याला पिउने हजार भेटिन्छन्, दुःखको घुट्को एक्लै निल्नुपर्छ । मसँग पैसा हुँदा मोजमस्ती गर्न, सद्धे हुँदा सयौं साथी आउँथे, मेरै पैसाले रक्सी पिउँथे । तर, जब म बिरामी भएको चाल पाएर मेरो बगली रित्तिएको थाहा पाए, तब सबै साइड लागे । दुःख र पीडामा मलाई कसैले एक कल फोन गरेनन्, कसैले सम्झिएनन् । नजिक ठानिएका र मानिएका एक एक साथीलाई आफू बिरामी भएको भनी उपचारका लागि सहयोग गर्न अनेकनन् अनुरोध गरें । सबै पन्छिए कोही व्यस्तताको बहानामा,कोही अनेक निहुँमा । अनि बल्ल मेरो घैंटोमा घाम लाग्यो । जीवन,जगत,साथ र साथी,घर परिवार यी सबैको अर्थ र महत्व बल्ल बुझेँ । संघर्ष के हो ? परिवार के हो ? पढाइ के हो ? साथी के हो ? सबै कुरा थाहा पाएँ । तर ढिलाइ भइसकेको थियो ।

बिरामी भएर थला परेको महिना दिन कट्नै लागेको थियो । बाँच्ने आश मरिसकेको थियो । शरीर भत्भती पोल्ने, दायाँबायाँ हलचल गर्न नहुने रोग । सुत्यो शरीर पोलेर सुत्न नसकिने, उठ्यो मन पोलेर बस्न नसकिने । आँखा खोल्यो पनि पीडा, आँखा चिम्ले पनि पीडा । पीडै पीडामा पौडीखेलिरहेको थिएँ । एक साँझ जीर्ण शरीर घसारेर शौचालय छिर्दै थिएँ ‘के भयो तँलाई ? कसरी यस्तो भइस्’ ? यस्तो आवाज सुनेर एकैचोटी सद्धे भएजस्तो लाग्यो । आमा आउनुभएको रहेछ, गाउँबाट । पहिला खबर पठाएकै गाउँले भाइलाई अघि अघि लगाएर कोठामा आउनुभएको । त्यसपछि आमालाई गम्लंग अँगालो हालें, डाँको छाडेर रोएँ । घरबेटीलाई अग्रिम कोठाभाडा दिएको हुनाले किचकिच थिएन । त्यसैले पनि मेरो बिरामी व्यथा उनीहरूलाई थाहा भएन । कोठाभाडा पाएपछि को मरे, को बाँचे, को बिराम छन् ? यी सारा चिजसँग के को सरोकार ? स्वार्थी हुन्छन् यो शहरका घरबेटी । उनीहरूलाई मात्र घरभाडासँग सरोकार हुन्छ । आफ्नै कोठामा बहालमा बस्नेलाई सिकिस्त बिरामी हुँदासमेत ढोका ढकढक्याउन आउँदैनथे । त्यतिबेला सोच्थें, पैसाको मुख कालो हुँदो रहेछ ।

जब दुःख पर्छ तब मात्र आमा सम्झिने मजस्ता नालायक छोराहरू यो संसारमा कति होलान् ?

आमा आउनुभएपछि सबैथोक पाएजस्तो लाग्यो । सबै दुःख एकाएक हराएजस्तो अनुभूति भयो । जब दुःख पर्छ तब मात्र आमा सम्झिने मजस्ता नालायक छोराहरू यो संसारमा कति होलान् ? आमालाई भेटेपछिको प्रश्न नै मेरो मथिंगलमा गुञ्जिरह्यो । बेलुकी आमासँग सुख–दुःखका कुरा गरेँ । आमा अनि आमासँगै आएका भाइको सहाराले भोलिपल्ट अस्पताल गएँ । डाक्टरले धेरै मदिरा, चुरोट सेवन गरेकाले यस्तो लक्षण देखा परेको बताए । अब, फेरि कुलतमा फसे ज्यान नरहने डक्टरको सल्लाह थियो । अस्पतालबाट घर आएर आमा मेरो हालत र शरीर देखेर औधी रुनुभयो । काठमाडौंमा बस्ने छिमेकीहरूले छोराको बारेमा भएभरको कुरा सुनाएको पनि बताउनुभयो । यो सुनेर बुवा निक्कै दुःखी हुनुभएछ । बुढेसकालमा एक्लो छोराको ताल देखेर कसको बुवा हर्टफेल नहोला ? तर, मेरो बुवा त्यति साह्रो काँतर हुनुभएन । बरु मेरो बानी थाहा पाएको एक महिनापछि एक सुको रकम मलाई नपठाएर दिदीहरूलाई व्यवसायमा सघाउनुभएछ । काठमाडौं आएको म घर परिवारलाई अनेक बहाना बनाएर आफु पढिरहेको सुनाउँथें । कलेज गइरहेको छु भन्थें । पढाइ सकाएर केही वर्षपछि गाउँ फर्किने पनि बताएको थिएँ, मदिराको नसामा । यो सबै कुरा आमाले रुँदै भन्नुभयो, ‘यस्तो किन गरिस् भन् ?’ यो भेटले म सुध्रिने बाटोतिर अभिप्रेरित भएँ । यसरी महिनौं जीर्ण शरीर आमाको माया,उही बात्सल्य प्रेम । उस्तै प्रेमले पुनः नयाँ जिन्दगी पाएँ । बच्चा हुँदा अनेक दुःख कष्ट गरेर हुर्काउनुहुने उनै मेरी आमाले फेरि नयाँ जिन्दगीको पाठ पढाउनुभयो । त्यसपछि पुरानो साथीभाई सबै त्यागेर अध्ययन र पत्रकारिता पेशामा लागें । अहिले स्नातक तह सकाइसकेको छु । पत्रकारिता पेशामा लागेको ५ वर्ष भयो । यो अवधिमा धेरै कुरा सिकें । उमेर बूढो हुँदैछ तर, पत्रकारिताको रस झन् झर्झराउँदो छ । अबको बाँकी जीवन यो क्षेत्रबाट अन्यतिर गएर व्यतित गर्ने कुरा आउँदैन । सकिँदैन ।

टिप्पणीहरू