राणाहरूबारे यस्ता रमाइला

राणाहरूबारे यस्ता रमाइला

राणा प्रधानमन्त्री श्री ३ रणोद्दीपलाई गोली हान्न जाने डम्बरसमशेर हाम्रा पूर्वज त्रैलोक्यनाथ पोखरेलले धीरसमशेरलाई खुशी बनाउन चढाएकी घर्तिनी कमारीको तर्फबाट जन्मिएका सन्तान हुन् । खासमा रणोद्दीपसिंह जंगबहादुरका छोरा जगतजंगलाई प्रधानमन्त्री बनाउन चाहन्थे । तर उमेरमा धीरसमशेरका छोरा वीरसमशेर जेठा थिए । उनी खप्तडी बस्नेतहरूका भाञ्जा हुन् । त्यसका लागि रणोद्दीपले धीरसमशेरका सत्र भाइ छोराहरूलाई कम्पनी सरकारको निम्तोमा रावलपिण्डी पठाउने भए । उनीहरू त्यहाँ गएको मौकामा जगतजंगलाई प्रधानमन्त्री बनाएर सत्तामा स्थापित गराउने योजना थियो ।

रावलपिण्डी जाने तयारीका लागि वीरसमशेरसहितका सत्र भाइ जर्नेल र उनीहरू मातहतका तीन गारत सैनिक टु“डिखेलमा जम्मा भइरहेको बेला अलि हड्बडाउँदै चन्द्रसमशेरका मामा केशरसिंह थापा घोडा चढेर आइपुगे । उनले एकान्तमा बोलाएर भने, ‘भाञ्जा, बरबाद हुने भो । तिमीहरू उता गएपछि यहाँ अर्कै खेल हुने भो !’ चन्द्रसमशेरले आत्तिएर सोधे, ‘अब के गर्ने त मामा ?’

त्यसपछि ती मामासहित सत्र भाइ दाजुभाइ गोप्य ठाउँमा बसेर सरसल्लाह गरे । उनीहरूबीच ठूलोबुबा रणोद्दीपसिंहको हत्या गर्ने र शक्तिको बागडोर हातमा लिने निर्णय भयो । त्यसका लागि रावलपिण्डी जाने काम रोक्नुपर्ने हुन्थ्यो । यसैअनुसार उनीहरूले वीरसमशेरकी रानी मुनीन्द्र दिव्येश्वरी (साहेबज्यू उपेन्द्र पुत्री) त्यही दिन नछुने भएको भन्दै सात दिनका लागि साइत सारेको बहाना बनाए ।

वि.सं. १९४२ साल कात्तिक १५ गतेको दिन राति आठ बजेको समय । प्रधानमन्त्री रणोद्दीपसिंह जीउमा तेल घस्न लगाएर रामनामी ओढी मकल तापेर बसिरहेका थिए । त्यसै समय जंगबहादुरकी छोरी अर्थात् बागकी कान्छी मैयाँलाई पछ्याउँदै खडगसमशेर, भीमसमशेर र डम्बरसमशेर सरासर उनी भए ठाउँमा पुगे । प्रधानमन्त्रीले आफ्नो पाले पहरामा बस्नेहरूलाई ‘सान्नानीका छोराहरू जतिबेला आए पनि नरोक्नू, सरासर भित्र आउन दिनू’ भन्ने आदेश दिएका थिए । तसर्थ उनीहरूलाई रणोद्दीपको खोपीमा पुग्न कुनै समस्या भएन । भतिजाहरूलाई देखेर रणोद्दीपले ‘के कामले आयौ ?’ भनेर सोध्न मात्रै के भ्याएका थिए, ‘पेटिकोटभित्रबाट शासन चलाउने ?’ भन्दै पिस्तोल सोझ्याएर ड्याङड्याङ पारिहाले । त्यही रात मनोहरा दरबार घेराउ गरी तकालीन पश्चिमतर्फका कमाण्डिङ जनरल जगतजंगलाई मारियो । थापाथली दरबारबाट ढाकरमा जवाहरातहरू लिएर ज्यान सुरक्षार्थ ब्रिटिश दूतावासतिर जाँदै गरेका जगतजंगका छोरा युद्धप्रतापजंगलाई अहिलेको सिंहदरबारअगाडि टुकुचा किनारमा गोली हानियो ।

त्यो साताभरि जंग, उनका सन्तान र नातेदारहरूको दरबारमा लुटपाट गरियो । जीतजंग, पद्मजंग, रणवीरजंग, केदारनरसिंह, भुपेन्द्रजंग, डम्बरजंग आदि चाहिँ ब्रिटिश दूतावासमा शरण लिएर बाँच्न सफल भए । यी सब घटनापछि भोलिपल्ट बिहान तिनै मामा केशरसिंह थापाको रोहवरमा सत्र भाइको बैठक बस्यो । वीरसमशेर श्री ३ प्रधानमन्त्री भए । कर्मचारीहरूको पजनी, छटनी, नियुक्ति आदिको अधिकारसहित प्रधान सेनापतिको जिम्मेवारी खडगसमशेरले पाए ।

एकपटक वीरसमशेरकहाँ एउटा मानिस ‘फलानो ठाउँमा पद खाली छ सरकार, नियुक्त गरिपाऊँ’ भन्दै बिन्ती गर्न गएछ । वीरसमशेरले उसलाई नियुक्त गरेर पठाएछन् । वीरसमशेरको मान्छे पुगेर पद बहाल गरेकै दिन खड्गसमशेरले नियुक्ति दिएर पठाएको मान्छे पनि पुगेछ । फर्केर आएर त्यो मान्छेले सिकायत गरेछ ।

भोलिपल्ट सबै दाजुभाइबीचको बैठकमा खड्गसमशेरले यो कुरा निकालेर ठाडो आपत्ति जनाएछन् तर उनलाई दाजुभाइले साथ दिएनन् । सायद छटनी, पजनीसहितका राजकीय अधिकार एकलौटी प्रयोग गरिरहेका खड्गसमशेरसँग उनीहरू पनि असन्तुष्ट थिए । त्यही निहुँमा उनलाई उपभोग गरिआएका सबै सुविधा दिनेगरी पाल्पा पठाइयो । देवसमशेरको कमजोर शासनशैलीबाट चतुर भाइहरू एकदमै रुष्ट थिए । के निहुँ पाउँ र दाजुलाई लखेटौं भनेर छटपटाइरहेका बेला दसैंको डोला भिœयाउने सन्दर्भमा देवसमशेरले ‘बुढाथोकीले डोला बोक्नू, कटवालले बाजा बजाउनू’ भन्ने निर्देशन दिए । त्यसपछि भाइहरूले ‘क्षेत्रीहरूलाई अकारण शुद्रमा पतीत गर्ने ?’ भन्दै बखेडा शुरु गरे । त्यही निहुँ बढ्दै जाँदा देवसमशेरले लखेटिनुप¥यो ।

झापा, इलामसहित यो भेगको पहिलो बडाहाकिम हुने हेमदल थापा पनि नेपालको इतिहासमा भाग्यमानी मान्छेमध्ये पर्छन् ।

काभ्रेको बनेपाभन्दा दक्षिण–पूर्वको खोपासीतिर जन्मेका हेमदलका थुप्रै भाइ छोरामध्ये गजराजसिंहलाई जंगबहादुरले आफ्नी छोरी दिएका थिए । जंगका नातिखलक भएकाले गजराजका छोरा नातिहरू जंग थापा भए । हर्कजंगका सन्तानहरू चन्द्रजंग, डिल्लीजंग, केशरजंग, बबरजंग, सूर्यजंग आदि । अर्का छोरा केशरसिंहले चाहिँ धीरसमशेरलाई छोरी दिएका थिए । ०४२ साल पर्व गराउनमा मुख्य भूमिका खेल्ने केशरसिंह थापाका सन्तानहरू समशेर थापा भए । चन्द्रसमशेरका मावली खलकहरूले समशेर थापा लेख्ने कारण यही हो ।

हेमदल थापा बडाहाकिम भएर भीमसेन थापाको पालामा इलाम आएका हुन् । उनी आउनुअघि अर्थात् टिष्टासम्मको भूभाग नेपालले शासन गर्दाको समयमा सदरमुकाम मिरिक छेउको नागरी चिया कमान भएको ठाउँमा थियो । त्यहाँको सुरक्षार्थ काजी जयन्त खत्री खटिएका थिए । सुगौली सन्धिलगत्तै सन् १८१६ मार्च ७ मा अर्थात् वि.सं. १८६५ मा अंग्रेज क्याप्टेन ल्याटरले एक पत्र लेखी त्यो ठाउँ छाड्न भनेपछि खत्रीले आफ्नो मुकाम अहिलेको करफोक स्कुल र आइतबारेबीचको डाँडामा राखे । केही वर्ष त्यहाँ राखेपछि विसं. १९७४ मा नामसालिङ सारियो । तर त्यहाँ सामरिक दृष्टिले उचित नदेखिएपछि वि.सं. १८७५ मा अहिले इलाम भएको ठाउँमा सारिएको हो । अंग्रेजहरू नामसालिङतिरबाट आए पनि, गोदकतिरबाट आए पनि या गोर्खे हुँदै माइपोखरीतिरबाट आइहाले भने पनि टाढैबाट देखिन्छ र ढुंगा लडाएर भए पनि तिनलाई लखेट्न सकिन्छ भन्ने विश्वासले त्यहाँ सारिएको हो रे ! त्यहाँ सदरमुकाम सार्ने काममा इलाम सुन्तलेका श्यामलाल अधिकारी पनि कर्मचारी थिए ।

गजराजसिंह थापा वि.सं. १९४९ सम्म अर्थात् २९ वर्ष यहाँको बडाहाकिम भएर बसे । त्यसै समय अंग्रेजहरूले दार्जिलिङमा सेन्ट जोसेफ स्कुल खोले । अवसरको फाइदा लिने उद्देश्यले गजराजसिंहले छोराहरूलाई पढ्न पठाएछन् । त्यही क्रममा तिनको एउटा छोरा र अंग्रेजको कुनै हाकिमका छोराको झगडा भएछ । नाताले नेपालका शक्तिशाली प्रधानमन्त्री जंगबहादुरका भाञ्जा थिए, जो कोहीले हेप्दा किन दब्थे ? कुटाकुट हुँदा गजराजका छोराले त्यो अंग्रेजको छोरालाई मारिदिएछ । अनि हतारहतार भागेर बाबु भए ठाउँमा आएछ । छोराका कुरा सुनेर गजराजसिंह आत्तिएछन् । लौ अंग्रेजहरू फौज लिएर आए भने हामीलाई सिध्याउँछन् भनेर रातारात इलाम सदरमुकाम आउने गौंडाहरूमा ढुंगा थुपार्न लगाएछन् । त्यही कारण केही दिनसम्म उनको निद्रा, चैन सबै गायब भएको थियो रे !

गजराजसिंह थापापछि खडगबहादुर शाह बडाहाकिम भएर आए । उनको कार्यकाल एकदमै छोटो देखिन्छ । त्यसपछि हर्कजंग थापा बडाहाकिम भए । उनकै छोरा चन्द्रजंग थापाले विरासत सम्हाले र क्रमशः गजराजजंग थापा, भोग्यसमशेर थापा, मुख्य चौतरिया चन्द्रविक्रम शाह, टेकनरसिंह राणा र राजसमशेर राणा यहाँको बडाहाकिम भए । यिनै राजसमशेरका पालामा इलाम र नामसालिङ जोड्न माइखोलामा झोलुङ्गे पुल हालियो । त्यो पूर्वकै पहिलो पुल हो । त्यसपछि पृथ्वीसमशेर, नेत्रजंग थापा, महावीरसमशेर, इन्दुसमशेर, विज्ञानसमशेर जबरा आदि बडाहाकिम भए । महावीरसमशेर यहीँको बडाहाकिम पद छाडेर क्रान्ति गर्न कलकत्ता गएका हुन् ।

नेपालको सबैभन्दा पुरानो मानिएको इलामको चियाबगान उनै गजराजसिं थापाले लगाउन लगाएका हुन् । त्यसको केही वर्षपछि सोक्तिममा पनि चिया बगान लगाए । आँप, लिची आदि फलफूलका लागि दानाबारी छेउ लोदियाको कुँडुले भन्ने ठाउँमा बगान बनाए । हाँसको अण्डाका सौखिन उनले शनिश्चरे मुन्तिरको कञ्चनवाडीमा मौजा लिएर मानिसलाई हाँस पाल्न लगाएका थिए । उनका लागि यहाँबाट हप्तैपिच्छे घोडामा बोकाएर अण्डा पठाइन्थ्यो । बैंसावाडी, हल्दीवारी, चकचकी, बाह्रदशी आदिमा पनि उनी र सन्तानका मौजा थिए । बाह्रदसी डाँडाको टुप्पामा आउँदा खाने–बस्ने घर थियो । रैतीहरूबाट पोत उठाउने कचहरी घर थियो । अहिलेको अर्जुनधाराधाम भएको जग्गा पनि उनैका नाति नेत्रजंग थापाको मौजाभित्र थियो । पछि मानिसहरूले अतिक्रमण गरेका हुन् ।

(गणेशप्रसाद पोखरेलको आत्मसंस्मरण ‘रैतीको इतिहास’बाट । उनी पृथ्वीनारायण शाहलाई वि.सं. १९२९ मा पूर्व विजय गर्न तन, मन र धन (११ हजार ५१ रुपियाँ) दिएर सहयोग गर्ने खार्पाली हरिनन्द पोखरेलका वंशज हुन् । गणेशप्रसादका छोरा राजेन्द्र पोखरेल हाल कन्काई नपामा मेयर छन् ।)

प्रस्तुति : कृष्ण अविरल

टिप्पणीहरू