एउटै आवेदन नपरेपछि एक वर्षपछि सिईओको उमेरहद बढाइयो
साझा यातायातले प्रमुख कार्यकारी अधिकृत नियुक्तिका निम्ति फेरि प्रक्रिया अघि बढाएको छ । यसअघि पटकपटक दरखास्त आह्वान गर्दा समेत कुनै आवेदन नपरेपछि प्रक्रिया नै रद्ध गरिएको थियो ।
साझाले आज पुनः उक्त पदमा दरखास्त आह्वान गरेको छ । आगामी २१ दिनभित्र ललितपुरको पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ । यसअघि २०८० मंसिर २५ गते र माघ १७ गते दुई पटक प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरिएको थियो ।
तर, तोकिएको समयभित्र एउटै पनि आवेदन नपरेपछि सीईओ नियुक्ति प्रक्रिया नै रद्ध गरियो । यसअघि सीईओका लागि उम्मेदवारको उमेरहद ३० वर्ष पूरा भई ५८ वर्ष तोकिएकोमा अब ६३ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।
व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरह शैक्षिक उपाधि हासिल गरेको र सरकारी, संगठित वा अन्तर्राष्ट्रिय संघसंस्थामा अधिकृत, राजपत्राङ्कित द्वितीय श्रेणी वा दशौं तहमा सात वर्ष काम गरेको पनि हुनुपर्ने छ ।
टिप्पणीहरू