संसद् र संविधान सिध्याउने खेल चल्दैछ
– देव गुरुङ, प्रमुख सचेतक, नेकपा
भद्र र कम बोल्ने स्वभावका देव गुरुङ नेकपाको प्रमुख सचेतक छन् । तर, उनको यो पद सुविधा लिनेबाहेक अरू दृष्टिले भूमिकाहीन छ । कुनै कुरा बुझ्न ढिला गरे पनि बुझिसकेको विषयवस्तुको परिपक्व प्रस्तुतीकरणमा अब्बल रूपमा चिनिन्छन् । नेपालमा पश्चिमाहरूको चलखेल बढ्दै गएको र कालान्तरमा संघीयता, गणतन्त्र नै सखाप हुने हो कि ? भन्ने चिन्ता पोख्छन् । विषयको गहिराइमा गएर त्यसलाई आफ्नो मान्यतामुताविक पेश गर्ने क्षमताका धनी उनी पूर्व कानुनमन्त्रीसमेत हुन् । अहिले नेकपाको स्थायी समिति सदस्य छन् ।
० अहिलेको सरकार चुनावी एजेण्डाअनुसार हिँडिरहेको छ ?
– ०४८ सालमा रामशरण महतले निजीकरण, उदारीकरणको सिद्धान्तका आधारमा बजेट ल्याएका थिए, त्यो ट्र्याकभन्दा बाहिर गएर हाम्रो बजेट आएन । सोचाइले ठीक दिशा पक्डिन सकेन । बहुमतका साथ सरकार चलाउने अवसर पाएको तीन वर्ष व्यतित भयो तर पुरानो ट्र्याक चेञ्ज गर्न सकिएन । घोषणापत्रले जुन मार्गनिर्देश गरेथ्यो व्यवहारमा उर्तान सकिएन । पार्टी, सरकार, मुलुक सबैतिर त्यो अभिव्यक्त भइरहेको छ । अमेरिकी सेनासँग संयुक्त अभ्यास, पिएससँग गठबन्धन, एमसिसी, उत्तरकोरियाली नागरिकलाई बिनाकारण निश्कासन, अमेरिकन नागरिकलाई अन्य मुलुकलाई भन्दा विशेष अधिकारसहित ५ वर्षको मल्टिपल भिसा, नेपालको नक्सा प्रकाशन गरेर प्रचार प्रसारमा रोक, बिआरआइ प्रोजेक्टहरूलाई पूर्ण निषेध । यी सबै तथ्यले राष्ट्रिय आत्मसमर्पणवादी धार देखा परेको बताउँछ । प्रकारान्तमा नेपाल लिबिया, अफगानिस्तान, सिरिया, लेबनान बन्दै भुटानीकरण वा सिक्किमीकरणको नियतिमा त पुग्दैन भन्ने त्रास छ ।
० विदेशीको चलखेल हो भने रोक्ने उपाय के त ?
– मुलुक जति अस्थिर भयो विदेशीका लागि क्रीडास्थल बन्छ । अहिले उनीहरू सिष्टम ड्यामेज गर्न चाहिरहेका छन् । संविधान विस्थापन गर्न खोजिरहेका छन् । ढिलो वा चाँडो संसद् विघटन, देशभक्त पार्टीलाई विभाजन गर्ने दिशामा लैजान्छन् । संघीयता लागू गर्न नदिने र गणतन्त्र नै उल्टाउने कोशिश जारी छ । दलाल पँुजीपतिको पक्षपोषण गरिरह्यो भने यो गणतन्त्र सिद्धिन्छ । अहिलेको गणतन्त्र बुर्जुवा हो । यही गणतन्त्र पनि उनीहरूलाई सैह्य हुँदैन । यो पनि ढिलो चाँडो विस्थापित हुन्छ । १४ वर्षसम्म शान्तिप्रक्रियाको मुद्दा किन टुंगो लाग्दैन ? राजनीतिक शक्तिलाई एकताबद्ध हुन किन दिइ“दैन ? कारण हो नेपालको अर्थतन्त्र विदेशीको दलाली गरेर चल्ने खालको भयो । अर्थात् भ्रष्टाचारीलाई चरमचुलीमा चलाउने खालको अर्थतन्त्र भयो । साम्राज्यवादीको प्रभुत्व थोपरियो । दलको बैठक सहज ढंगले बस्न नदिने, निर्णय कार्यान्वयन हुन नदिने काम भयो । अहिले राज्यको नेतृत्व गरिरहेका साथीहरूको सोच र चिन्तनका कारण गणतन्त्र र संघीयता गम्भीर संकटमा परेको छ ।
० पूर्वमाओवादी एक ठाउँमा उभिरहेका छैनन् । टोपबहादुर रायमाझी, मणि थापाहरूले प्रचण्डको साथ छाडेकै हो ?
– विचारको लडाइँमा गुटको अर्थ हुन्न । गुट भनेको स्वार्थ समूहको गठजोड हो । यस्तो गठजोड वर्गसंघर्षको सिद्धान्तबाट च्यूत भएपछि हुने हो ।
० तपाईंहरूको समूहको नेतृत्व गर्ने बादलको भूमिका कस्तो लागिरहेको छ ?
– व्यक्ति आफैंले सोच्ने, विचार गर्ने, आफ्नो धारणा आफैंले बनाउने हो ।
० अघिल्लो अधिवेशन हठात् कसरी रोकियो ?
– सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेर, हामीलाई थाहै नदिई ।
० अहिले संसद् स्थगित छ तर चोर बाटोबाट धमाधम अध्यादेश ल्याइँदै छ । यो राम्रो स्थिति हो र ?
– अनावश्यक विषयमा अध्यादेश ल्याइनु र अध्यादेशबाट शासन चलाउनु राम्रो होइन । बर्जुवा डेमोक्रेसीमा अध्यादेशबाट शासन चलाउनु लोकतान्त्रिक काम होइन ।
० संसदीय समितिहरू कर्मकाण्डी भए भन्ने आरोप छ । के भन्नुहुन्छ ?
संरचना बनाउँदा, क्षेत्राधिकार निर्धारण गर्दा त्यही मोडलको बनेको छ । परम्परागत संसदीय प्रणालीमा दलहरूको ह्विप लाग्दै आएको छ । दलहरूको ह्विप लाग्दा संसदीय समिति कति प्रभावकारी हुन सक्लान् ? सरकारले ल्याएको प्रस्तावसमेत दुई तिहाइ बहुमतले इन्कार गरेको खण्डमा पुनर्विचार हुन्छ । यदि, दुई तिहाइले इन्कार गरेन भने ४५ दिनपछि स्वतः अनुमोदन भएर जाने अवस्था छ । संसदीय सुनुवाइ प्रणालीलाई स्वविवेकपूर्ण ढंगले सोच्ने, निर्णय गर्ने क्षमताको बनाउन सकिएन । सरकारको छायाको रूपमा विगतदेखि नै रहँदै आयो । पटक–पटक यो विषयमा विवाद भएको छ । साधारण बहुमतका आधारमा अनुमोदन वा इन्कार हुने व्यवस्था बनाइनुपर्छ र दलीय ह्विप बजेट र सरकार निर्माणमा मात्र लाग्ने, अन्य विषयमा आकर्षित नहुने गर्नुपर्छ ।
० बदनाम पात्रहरूलाई धमाधम नियुक्त गर्ने, त्यस्ता पात्रलाई रोक्न नसक्ने भए संसदीय सुनुवाइको नौटंकी किन गर्नु ?
– ५० को दशकदेखि नै यसैगरी संसदीय समितिहरू चलिरहेका छन् ।
० कहिलेसम्म संसद् रबर स्टाम्प भएर चलिरहन्छ ?
– अभ्यास गर्दै जाँदा भविष्यमा सुधार गर्दै लैजानुपर्छ । यसरी सुधार गर्नुपर्ने पाटा धेरै छन् । संविधान, निर्वाचन प्रणाली, शासकीय सुधार, समानुपातिक, समावेशी सिद्धान्तबाट नगई हुँदैन । यही निर्वाचन प्रणालीले मजदुर, दलित, किसान, महिला, जनजातिबाट कोही आउँदैन । एकाधिकार दलाल पँुजीवादको संरक्षक जो करोडौं करोड लगानी गर्न सक्छ । मतदातालाई प्रभावित पार्न सक्छ । त्यस्तोका लागि बनेको प्रणाली त्यो दिशातिर गइरहेको छ, सुधार गर्दै लैजानुपर्छ । तर, अहिले हामी सुधार गर्न सक्ने अवस्थामा छैनौं ।
० किन ?
– राष्ट्रियता संकटमा परेका बेला सिष्टममा धेरै दायाँ बायाँ गर्न सक्दैनौं । नेपाललाई अफगानिस्तान, सिक्किमीकरण हुने प्रक्रियालाई रोक्न सक्यौं भने संविधान, गणतन्त्रमा रहेका सीमा र कमजोरीहरू सुधार्न सकिन्छ । जबसम्म चीनविरोधी अमेरिकी साम्राज्यवादको घेराबन्दी रहिरहन्छ तबसम्म नेपाल अत्यन्त असुरक्षित रहन्छ । सैन्यबाहेक अरु सबै क्षेत्रमा अमेरिकापछि चीनले लिड गर्दै गइरहेको छ । अमेरिका सुपरपावरबाट विस्थापित हुँदै गएर चीनसँग लड्न सकिँदैन भन्ने निश्कर्षमा पुगेको बेलामा मात्र नेपालजस्तो मुलुक उसका लागि काम लाग्न छाड्छ । अहिलेचाहिँ अमेरिकाले जे जे भन्यो त्यो हुबहु अनुमोदन हुँदै आएको स्थिति छ । अमेरिकाले सैन्य क्याम्प राख्न खोज्यो भने अहिले राज्यको नेतृत्वमा बसेकाहरूको चिन्तन, सोचले त्यसलाई निषेध गर्न सक्दैन । विदेशी हस्तक्षेप रोक्ने भनेको देशभक्त दलहरूले हो । तिनैलाई अहिले विभाजन गर्ने खेल चल्दै छ । संसद् र संविधान सिध्याउने खेल चल्दै छ । त्यसका लागि राजावादीलाई उचाल्नुपर्छ कि निरंकुशतावादी चिन्तनलाई उचाल्नुपर्छ ।
० अहिलेको राजावादी आन्दोलन पनि त्यही हो ?
– निश्चय नै, शंकै छैन । साम्राज्यवादीकै डिजाइनमा यी सब भइरहेको छ ।
० अहिलेको नेतृत्व त्यही दिशामा गइरहेको हो ?
– व्यक्तिको कुरा नगरौं । चिन्तन, विचार, लाइनमा हेर्ने कुरा हो । तपाईंहरू आफैं मूल्यांकन गर्नुहोस् । व्यक्ति अदल बदल भइरहनसक्छ । दलालहरूले आज एउटा व्यक्तिलाई प्रयोग गर्न सक्छन्, भोलि अर्काेलाई । साम्राज्यवादको अगाडि कसले घँुडा टेक्दै छ, लम्पसार परेर त्वम् शरणम् कसले गर्दैछ ? त्यो प्रवृत्तिविरुद्ध निर्मम ढंगले संघर्ष गर्न सक्यौं भने नेपाल बच्छ । सकेनौं भने गणतन्त्र मात्र होइन अस्मिता नै समाप्त हुने खतरा छ ।
० कर्णालीमा जुन विवाद चुलियो, त्यसविरुद्ध बालुवाटारले तपार्इंलाई हटाउन खोजेको चर्चा पनि छ । वास्तविकता के हो ?
– व्यक्तिगत विषयमा मलाई कुनै जानकारी छैन । संघीयता कार्यान्वयन गर्नका लागि सात प्रदेशलाई क्षेत्राधिकार दिइएको छ तर प्रयोग गर्न दिइएको छैन । प्रदेशहरूलाई प्रशासनिक इकाइको रूपमा अघि लैजाने प्रयास भइरहेको छ । धर्मनिरपेक्ष भनिएको मुलुकमा अनावश्यक हिन्दू धर्म र रामअयोध्याको चर्चा गर्ने ? यी सबै हेर्दा सिष्टमलाई कोल्याम्प्स गर्ने प्रयास भइरहेको छ । साम्राज्यवादीहरू खेलिरहेछन्, हामी गोटी बनिरहेका छौं । उनीहरूलाई ढुंगा खोज्दा देउता मिलेको अवस्था छ ।
– हरि गजुरेल
टिप्पणीहरू