मार्क्सवादी दृष्टिमा पृथ्वीनारायण शाह
– अनिल शर्मा ‘विरही’
पृथ्वीनारायणका पिता नरभूपाल शाहले राज्य विस्तारको प्रयास गरेका भए पनि असफल भए । आफ्नो राज्य छोराहरुलाई अंशबण्डा गरिदिने चलन थियो । त्यसबेला नेपालमा तामा, काँस, ऊन, फलाम, कपास खेती, जडीबुटी, हतियार उद्योग, राडी, पाखीजस्ता घरेलु उद्योगको विकास भइरहेको थियो । ल्हासा र पाटलीपुत्र तथा कोलकाताको संगमस्थल नेपाल मण्डल थियो । नेपाल मण्डलको केन्द्र यँ अर्थात् काठमाडौं हो । काठमाडौंको पूर्वी ढोका वः नेपाः (बनेपा), उत्तर ढोका (नुवाकोट) र दक्षिण ढोका (मकवानपुर) मा अलग–अलग राज्य थिए । नेपाल मण्डलभित्र चरिकोटदेखि लेले, त्रिशूली, चित्लाङ र पाटनभित्र अनेक राजारजौटा थिए । आपसमा लडिरहन्थे । झारा जानुपर्ने, कर तिर्नुपर्ने, युद्ध कर तिर्नुपर्ने, युवाहरुले अनिवार्य लडाइँमा भाग लिनुपर्ने, विजितबाट धनजनको क्षति व्यहोर्नुपर्ने अथाह पीडा भोगिरहेका थिए । त्यसकारण व्यापार, उद्योग, सुरक्षा र आर्थिक सबै दृष्टिले शक्तिशाली केन्द्रीय शासन व्यवस्था आवश्यक भएको थियो ।
विभाजन बाइसे, चौबिसे राज्य हुँदै चरम अवस्थामा पुगेको थियो । केन्द्रीकृत शासन प्रणाली नेपाली समाजको वस्तुगत आवश्यकता बनेको थियो । त्यो आवश्यकतालाई पाल्पाली सेनवंशी राजा र नेपालमण्डलका मल्ल राजाहरुले बुझ्नुपथ्र्यो । उनीहरुलाई एकीकरण गर्न सापेक्षिक सहज हुन्थ्यो किनकि उनीहरु आर्थिक रुपले सम्पन्न र विकसित थिए । मल्ल राजाहरुको ल्हासा र पाल्पाको पाटलीपुत्रसम्म व्यापार थियो । प्रशस्त उत्पादनशील भूमि भएका रैतीहरु थिए । खाद्यान्न, हतियार र जनशक्ति आपूर्तिको समस्या थिएन तर ठकुरी र मल्लहरुले तत्कालीन समाजको धरातलीय यथार्थलाई बुझेनन् । सबै दृष्टिले कमजोर गोर्खाली राजाले भने वस्तुगत आवश्यकता बुझ्न सक्षम भए । जसको कारण उनको पक्षमा रैती, व्यापारी र भारदारहरु उभिए । क्रान्ति विज्ञान र कलाको संयोजन हो भन्ने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले रणकौशलमा पनि विकास गरे । युद्ध गर्दै, युद्ध सिक्दै गए । यद्यपि राज्य विस्तार भएपछि गोर्खाली पक्षधर बौद्धिक जमातले पृथ्वीनारायण शाहको देवत्वकरण गर्दै गयो । मिथकहरु थपेर ‘पृथ्वीनारायण शाह मान्छे नै थिए कि अलौकिक कथा’ भन्ने अवस्था सिर्जना गरियो । त्यो अलग्गै छलफलको विषय हुन सक्छ । त्यसरी गोर्खा राज्य विस्तार अभियान सफल हुनुमा आन्तरिक पक्ष मूल वा कारण हो ।
पृथ्वीनारायण शाहको राज्य विस्तार सफल हुनुमा बाह्य कारण त्यत्तिकै जिम्मेवार छ । त्यसबेला भारतमा अनेकौं बादशाह थिए । बेलायतकी महारानीले व्यापारको लागि अनुमति दिएको ‘इष्ट–इण्डिया कम्पनी’ले राजनीतिमा हात हाल्दै कोलकाता (बंगाल) कब्जा गरिसकेको थियो । आपसमा लडिरहेका रजौटाहरु अंग्रेजको शरणमा जान्थे । उनीहरुबीच एकता थिएन । अंग्रेजहरुले आपसमा लडाउँदै, कब्जा गर्दै अगाडि बढ्दै थिए । उनीहरुले नेपालभित्र पनि घुसपैठ गरिसकेका थिए । क्रिश्चियन पादरीहरुले बाइबल बोकेर काठमाडौंमा अड्डा जमाइसकेका थिए । धर्म–कूटनीतिलाई फिरन्तेहरुले जोडतोडले अगाडि बढाइरहेका थिए । यो जनमत निर्माणको ध्येय मात्र नभएर सूचना प्राप्त गर्ने प्रयास पनि थियो ।
जयप्रकाश मल्ल र मकवानपुरे राजाहरुले फिरन्ते फौजलाई पृथ्वीनारायण शाहविरुद्ध आमन्त्रण गरिसकेका थिए । पृथ्वीनारायणले फिरन्ते फौज र क्रिश्चियन धर्मविरुद्ध नारा अगाडि सारे । त्यसबेलाको धर्मभिरु समाजमा क्रिश्चियन पादरी र विदेशी फौजविरोधी देशभक्तिको नाराले अचुक अस्त्रको काम ग¥यो । पराजित राज्यमा बदलाको भावनाभन्दा सम्झौताको नीति लिए । काठमाडौंका मल्ल भारदारसँग ‘पृथ्वीनारायण शाहले नेवारको व्यापार र संस्कृतिको रक्षा गर्ने, नेवारले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गर्ने’ सहमति भएपछि इन्द्रजात्राको दिन युद्ध नगरी जयप्रकाश मल्लका भारदारहरुले शाहलाई गद्दीमा बसालेको बताइन्छ । देशको नाम नेपाल र राजधानी काठमाडौं सार्नु आफैंमा दूरदर्शी कदम नै मान्नुपर्छ । कुमाउँ र गढवालमा उनका उत्तराधिकारीले कब्जा गरेपछि बदलाको कारवाही गर्ने, स्थानीय पराजित रजौटालाई हात लिन नसक्ने भएकै कारण उनीहरु अंग्रेजको शरणमा गएको ठानिन्छ । बझाङ्गे राजा, मुस्ताङ्गे राजा, जुम्ली राजा जसरी विर्ता, रजौटा कायम राखेको भए उनीहरुले विद्रोह नगर्न सक्थे । त्यसरी पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान अंग्रेजी साम्राज्यवादविरोधी स्वतन्त्रताको अभियान बन्न गयो । भारतका (भारत भन्ने देश थिएन) मेरठ, बंगाली, पञ्जाबीजस्ता शक्तिशाली राज्यले नसकेको काम नेपालीले गरे । अंग्रेजहरु भारतमा अल्झिरहेका बेला नेपालले शक्तिसञ्चय ग¥यो । यसरी नेपालसमक्ष अंग्रेजको एउटा अंग बन्ने कि केन्द्रीकृत राज्य बनाउने भन्ने प्रश्न आएको थियो । पृथ्वीनारायण शाहको राज्यविस्तार सफल हुनुको दोस्रो कारण अन्तर्राष्ट्रिय परिस्थितिलाई आफ्नो पक्षमा पार्नु हो ।
आन्तरिक र बाहिरी अर्थात् घरेलु र अन्तर्राष्ट्रिय परिस्थितिलाई बुझेर वस्तुगत माग र आवश्यकता संबोधन गरिएको कारण गोर्खा राज्य विस्तारबाट शुरु भएको अभियान ‘एकीकरण’ को चरणमा प्रवेश ग¥यो भन्न सकिन्छ । किनकि पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी ‘गोर्खा राज्य विस्तार’ सम्म स्थिर रहेनन् । प्रमुख दुश्मन पनि अंग्रेज साम्राज्यवाद बन्न गयो ।
पृथ्वीनारायण शाहको सन्दर्भमा दुईवटा पक्ष बहसमा आउने गरेको पाइन्छ– पहिलो, पृथ्वीनारायण शाहले कविलाई आदिवासी–जनजातिमाथि दमन गरे भन्ने छ । पाल्पा, काठमाडौं, लमजुङ, जुम्ला जनजाति राज्यहरु थिएनन् । तिनीहरु कविला समाजमा पनि थिएनन् । त्यसकारण पृथ्वीनारायण शाहको अभियान जनजातिविरुद्ध केन्द्रित थियो भन्ने आधार देखिन्न । राज्यविस्तारको प्रक्रियामा युद्धहरु भए । युद्धमा विजित पक्षबाट पराजितमाथि आक्रमण र लुटपाट हुने नै भयो ।
२०४६ सालपछि र गणतन्त्र स्थापना भएपछिका शासक (जसमा धेरैजसो जनजाति नै छन्) हरुले जनतामाथि गरेको लुटपाट, आगजनी, सामूहिक हत्या, नक्कली भिडन्तको नाममा हत्या हेर्ने हो भने पृथ्वीनारायण शाहले राज्य विस्तारको क्रममा भए–गरेका हत्या–दमन फिका देखिन्छन् । वर्तमानका अत्याचारको विषयमा मौन बसेर सत्तास्वार्थ पूर्ति गर्ने, इतिहासप्रति धारेहात लगाएर जनमत बटुल्ने छट्टु स्याल प्रवृत्ति पनि देखिन्छ । दोस्रो, पृथ्वीनारायण शाह अंग्रेजको स्वार्थ र रणनीतिको विपक्षमा थिए । उनीहरुका धर्मभिरु (पादरी) नेपालबाट अपमानित बनाएर लखेटिए । सिन्धुलीगढी र मकवानपुर मोर्चामा सुगौली सन्धिअगाडि नै उनीहरुले ठूलो धनजन र हतियार गुमाउनुप¥यो । अंग्रेजको स्वार्थविरुद्ध भएको कारण पश्चिमी देशका बुद्धिजीवीले पृथ्वीनारायण शाहको विद्रुपीकरण गरे । नेपालको एकीकरण नै होइन, अत्याचारी राज्य विस्तार हो भनियो । त्यसरी फेरि विभाजनको आधार बनाइयो । युरोप र अमेरिकामा पढेर आएको हाम्रो बौद्धिक समूह त्यही स्वार्थी ढकिया टाउकोमा राखेर दौडियो ।
पृथ्वीनारायण शाहले विशाल केन्द्रीकृत, एकीकृत राज्य निर्माण गरे । त्यसले नेपालमा औद्योगिक, व्यापारिक आधार तयार ग¥यो । आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रिय पुँजीपतिको विकासको वस्तुगत आधार तयार भयो । अंग्रेज त बजार विस्तारका लागि नै दक्षिण एसिया प्रवेश गरेको थियो । दक्षिण एसियाको एउटा जंगलमा ‘गहुँगोरो र गोरो’ अथवा ‘रैथाने र फिरन्ते’ दुईवटा बाघको उदय भयो । एउटा जंगलमा दुईवटा बाघ रहन सक्दैनथे । त्यही भएर सन् १८१४–१८१६ सम्म नेपाल र अंग्रेजबीच युद्ध भयो । युद्धमा नेपालले हा¥यो । जसका कारण औद्योगिक पुँजीवादको विकास अवरुद्ध भयो । नेपाल दलाल पुँजीवादी चरणमा प्रवेश ग¥यो । अंग्रेजलाई कच्चा पदार्थ र युवा जनशक्ति आपूर्ति गर्ने र उताबाट तयारी वस्तु आयात गर्ने अंग्रेजको सुरक्षित बजार बन्यो ।
पृथ्वीनारायण शाहले निर्माण गरेको पुँजीवादको अनुकूलता अर्थात् केन्द्रीकृत राज्य र अर्थनीति कायम रहन र विकास गर्न पाएको भए औद्योगिक पुँजीवादको जबर्जस्त विकास हुन्थ्यो । पुँजीवाद र सत्तारुढ सामन्तवादबीचमा अन्तर्विरोध बढेर जान्थ्यो । त्यस प्रकारको संघर्षमा पुँजीवाद हावी बन्दै जान्थ्यो । पुँजीवादको विकासले प्रगतिशील वर्ग र क्षेत्रको आवाज पनि उठ्दै जान्थ्यो तर दलाल पुँजीवादको उदयले त्यो विकासको स्वाभाविक प्रक्रिया नै अवरुद्ध भएर गयो । पृथ्वीनारायण शाहको एकीकरणले जनजाति र आदिवासीको विनाश ग¥यो भन्ने कुरा तथ्यगत छैन । पृथ्वीनारायण शाहको उदय नभएको भए नेपाल अंग्रेजको उपनिवेश (प्रत्यक्ष) हुने प्रवल सम्भावना थियो । त्यसो भएको भए झारखण्ड वा तेलंगनाको आदिवासी अवस्थामा हामी पुग्ने थियौं । समस्या औद्योगिक पुँजीवादको विकास अवरुद्ध हुनुमा रहेको छ । जसको जाँतोमा अहिले पनि नेपाल पिसिइरहेको छ । के दलाल पुँजीवादले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्छ ? दलाल वा आसेपासे पुँजीवादले औद्योगिक पुँजीवादको विकास गर्न सक्छ ? राजतन्त्रात्मक बहुदलीय व्यवस्था र गणतन्त्रात्मक दलाल पुँजीवाद पटक–पटक असफल भए । राणाकाल र पञ्चायती व्यवस्था त साम्राज्यवाद आश्रित सामन्ती व्यवस्था छँदै थिए । त्यसकारण श्रमजीवी वर्ग, मध्यम वर्ग र कम्युनिष्ट जनताको समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्थालाई तार्किक स्तरबाट प्रयोगमा लैजानुपर्छ ।
टिप्पणीहरू