पेरिसडाँडाको निश्कर्ष : ‘नरमलाई डोर्याउने, बटारिनेलाई छाड्ने’

पेरिसडाँडाको निश्कर्ष : ‘नरमलाई डोर्याउने, बटारिनेलाई छाड्ने’

नेकपाको पेरिसडाँडास्थित कार्यालयमा आज काठमाडौं जिल्लाभित्र कार्यक्षेत्र भएका केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यहरूको अनौपचारिक भेला आयोजना भएको छ । ३० जनाको हाराहारीमा भएको भेलामा मुख्यगरी बागमती प्रदेशकी इञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहाल, काठमाडौं महानगरका इञ्चार्ज जीवनराम श्रेष्ठ,काठमाडौं जिल्ला सचिव हिमाल शर्मा,सुरेन्द्र मानन्धर, दिलिप महर्जनलगायतको उपस्थिति थियो ।
प्रदेश कमिटीबाट काठमाडौं जिल्लामा कार्यक्षेत्र भएका पूर्व एमाओवादीतर्फका सबैजसो सहभागी थिए । काम विशेषले उपत्यका बाहिर रहेकाहरूको मात्र भेलामा उपस्थिति हुन नसकेको बताइन्छ । त्यसरी अनुपस्थित हुनेहरूमा प्रकाश गौतम एक हुन् । उनी एक सातादेखि सिन्धुपाल्चोकमा रहेको र खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ पनि काम विशेषले काठमाडौं बाहिर गएका कारण आजको भेलामा सहभागी नभएको बताइन्छ ।

भेलाले तत्कालीन एमाले र एमाओवादी पार्टीको एकतापश्चात् हिजोको अवस्थामा पछाडि फर्कनको लागि आवश्यक पर्ने पुल भत्काइसकेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को  भनाईलाई आत्मसात् गर्दै जसरी पनि अघि बढ्ने निचोडमा जोड दिएको छ । पार्टी एकतालाई मूल उद्देश्य बनाउँदै अघि बढ्न चाहने सबैलाई समेटेर लैजाने र बटारिएर हिँड्नेलाई छाड्नेमा भेलाका सहभागीहरूबीच सहमति भएको बताइन्छ ।

अघि बढ्न चाहने सबैलाई समेटेर लैजाने र बटारिएर हिँड्नेलाई छाड्ने सहमति भएको बताइन्छ

भेलामा नेकपाभित्र विकसित पछिल्लो घटनाक्रमप्रति खुमलटारभन्दा बालुवाटार दिनप्रतिदिन सशंकित बन्दै गएको रिपोर्टिङ्ग गरिएको थियो । पेरिसडाडामा यो भेला चल्दाचल्दै दिउँसो स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुग्नुभएको खबर आएको थियो । पेरिसडाँडामा बोलाइएको अनौपचारिक भेलामा सहभागी हुनजाने तरखरमा रहेका कतिपयलाई समेत बालुवाटार निकटस्थहरूले विभिन्न बहानामा ‘भेटघाटको लागि भन्दै’ तारन्तार फोन,म्यासेज गरेको खबरसमेत एकापसमा सेयर भएको थियो  ।

पछिल्लो दिनमा विशेषगरी उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेलले तल्लो तहका नेता तथा कार्यकर्तालाई समेत फोन गर्दै ‘यसो चिया खान आउनुहोस् न कमरेड’ भनेर बोलाउने गरेको चर्चासमेत चलेको थियो । बिना बिभागीय रहनुभएका पोखरेललाई फोन थिच्दै चियापानको लागि बोलाउन अहिले सजिलो पनि भएको छ । हिजोआज उहाँ न रक्षा मन्त्रालयको व्यस्ततामा न सीसीएमसीको लफडामा रहेकाले पनि फुर्सदिलो हुनुभएको बताइन्छ ।

खुमलटार पक्षले बालुवाटारले झैं अहिलेसम्म सबैभन्दा तल्लो वडा तहसम्म भेला,छलफल र अन्तरक्रिया गरेको थिएन । उसले केन्द्रीय समिति र एकाध ठाउँमा प्रदेशस्तरीय कार्यक्रम मात्र आयोजना गर्दै आएको स्रोतको दाबी छ । तर,बालुवाटारले मदन भण्डारी फाउण्डेशनको नाममा गरेको गतिबिधिलाई लक्षित गर्दै खुमलटारले पनि ‘टिट फर ट्याट’ गर्न निर्देशन दिएको बताइएको छ ।

भोलिको स्थायी समिति बैठकमा बहुमतको आधारमा गरिएको निर्णयलाई सबैले शीरोधार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव प्रस्तुत हुने बुझिएको छ । त्यसपछि केन्द्रीय समितिमा गएर आवश्यक निर्णय गर्ने तयारीका साथ आन्तरिक गतिबिधि अघि बढेको संकेत देखिएको छ ।

टिप्पणीहरू