गोरखापत्रमा ‘साँढेको जुधाई’
सत्तारुढ दल नेकपाभित्र अन्तरसंघर्षको प्रत्यक्ष असर सरकारी अखबारको प्रकाशक गोरखापत्र संस्थानमा परेको छ । संस्थानका अध्यक्षले तोकेको जिम्मेवारी पालना नगरी अनेकन बदमासीमा सम्लग्न रहेको भन्दै तत्कालीन माओवादीनिकट कर्मचारी संगठनका अध्यक्षलाई पहिले निलम्बनमा राखिएको र हाल सेवाबाट बर्खास्त गर्न सूचना निकालिएको छ ।
छैंठौं तहका बजार अधिकृत विष्णुप्रसाद खनाललाई संस्थान व्यवस्थापनको मंसिर २६ गतेको निर्णयानुसार कर्मचारी सेवा शर्त विनियमावली २०४२ (बाह्रौं संशोधन समेत) ,परिच्छेद १२ को सजाय र पुनरावेदनसम्बन्धी व्यवस्थाअन्तर्गत विनियम १४७ बमोजिम सजायँ गर्न जारी पत्रको विनियम १६३ बमोजिम पुनरावेदन गर्न गोरखापत्रमा प्रकाशित सूचनाले पनि खनाललाई सेवाबाट हटाउने प्रक्रिया शुरु गरेको देखिन्छ ।
छोरी कुटेर बुहारी तर्साउने रणनीति अनुसार खनाललाई देखाउँदै व्यवस्थापनले अरु अटेरीलाई समेत ठेगान लगाउन थालेको कर्मचारीहरूले बताएका छन् । नेकपाभित्रको विवादले संस्थानका वामपन्थी कर्मचारी र व्यवस्थापनबीच बोलचाल बन्द भएपछि रुख छाप लाई भने हाइसञ्चो भएको चर्चा छ ।
यसअघि सञ्चार मन्त्रीको समेत जिम्मेवारी लिएका युवराज खतिवडाले त्यसैगरी टीकाराम राईको हुर्मत लिने प्रयास गरेका थिए । तर,राईले सर्वोच्चको ढोका ढकढकाएपछि संस्थान व्यवस्थापन पछि हट्न बाध्य भएको थियो ।
टिप्पणीहरू